News

May 29, 2009

एभरेष्ट् म्याराथन् दौडमा फुर्वा तामाङ पहिलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सगरमाथा दिवससका अवसरमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको एभरेष्ट् म्याराथन् दौडमा यसपाली २१ वर्षिय फुर्वा तामाङ पहिलो भएका छन्। विश्वकै अग्लो स्थानमा हुने सो दौडका रुपमा चिनिएको एभरेष्ट् म्याराथन् यसपाली सातौं पटक सम्पन्न भएको हो। छप्पन्न वर्षअघि तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहण गरेको सम्झनामा, एउटा निजी पर्यटन विकास संस्थाले एभरेष्ट म्याराथनको आयोजना गर्दै आएको छ। सोलुको नाम्चेबजारबाट नेपाल पर्यटन बोर्डका अधिकारीहरूले जनाएअनुसार दौड शुक्रवार बिहानै पाँचहजार मिटरभन्दा बढी उचाइमा रहेको सगरमाथा आधार शीविरबाट शुरु भएको थियो। तर १२ वटा देशका १२० धावकहरु मध्ये सबैभन्दा छरितो साबित भए सोलुखुम्बुका फुर्वा तामाङ। अघिल्लो साल द्वितिय भएका तामाङले यसपाली पोहर पहिलो हुने धावकभन्दा १३ मिनेट चाँडो दौडिएर नयाँ किर्तिमान बनाएका छन्। उनले सगरमाथा आधार शीविरदेखि नाम्चे बजारसम्मको ४२ किलोमिटर लामो दुरी तीन घण्टा ४० मिनेट ४७ सेकेण्डमा पार गरेका हुन्।फुर्वाका दाजु रामकुमार तामाङ्ले चार घण्टा सात मिनेटमा र सोलुकै सुदिप कुलुङ राईले चार घण्टा नौ मिनेटमा एभरेष्ट म्याराथनको दुरी पार गरेर, क्रमश:, दोस्रो र तेस्रो भएका छन्। महिलातर्फ सोलुकै मिङमा चाम्जी शेर्पाले पाँच घण्टा पाँच मिनेट ३२ सेकेण्डमा एभरेष्ट म्याराथन दौडिएर पहिलो भएकी छन्। आङ फुटी र मिङमा फुटी शेर्पा क्रमश: दोस्रो र तेस्रो भएका छन्। अन्तर्राष्ट्रिय तर्फ भारतीय सेनाका श्याम केशो पहिलो, भारतिय सेनाकै ओम कुमार र टि गनपती दोस्रा तेस्रा भएका छन्।प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, ब्रिटेन, जर्मनी, साउथ अफ्रिका र रोमानियाका धावकहरुले समेत भाग लिएका थिए। हिमनदी, झोलुङ्गे पुल, शेर्पा बस्ती अनि गुम्बाहरुले सजिसजाउ एभरेष्ट म्याराथनको रुटलाई कसैकसैले संसारकै सबैभन्दा सुन्दर म्याराथन पनि भन्ने गरेका छन्। तर सगरमाथा क्षेत्रको उचाई र भौगोलिक विकटताका कारण यसलाई त्यतिकै कठिन म्याराथन पनि मानिन्छ।

No comments: