News

May 27, 2009

प्रचण्डका लागि सुरक्षामा ७० जनाको सेनाटोली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ जेठ प्रधानमन्त्रीबाट भर्खरै अवकाश लिएका माओवादी अध्यक्ष प्रचण्डका लागि माओवादी जनमुक्ति सेनाले सुरक्षा-व्यवस्था कडा पारेको छ । उनको सुरक्षार्थ अहिलेसम्म जनमुक्ति सेनाका डिभिजन सहकमान्डरको नेतृत्वमा करिब ५० जनाको टोली थियो, अब कमान्डरको नेतृत्वमा ७० जनाको टोली खटिने भएको छ । प्रधानमन्त्री हुनुअघि जनमुक्ति सेनाका सर्वोच्च कमान्डर रहेका प्रचण्डका लागि अहिलेसम्म जनमुक्ति सेनाका डिभिजन सहकमान्डर मन्जिलको नेतृत्वमा टोली खटिएको थियो । तर, अब प्रचण्डको सुरक्षा-दस्ताको नेतृत्व गर्न पहिलो डिभिजन कमान्डर सन्तु दराई 'परवाना' आउन लागेका छन् । सूत्रका अनुसार नयाँ टोलीका केही सदस्य प्रचण्डनिवास नयाँबजार आइसकेका छन् । प्रधानमन्त्री हुनुअघिसम्म प्रचण्ड माओवादी जनमुक्ति सेनाको सर्वोच्च कमान्डर थिए, त्यो वेलामा उनको सुरक्षार्थ डिभिजन सहकमान्डरको नेतृत्वमा करिब ५० जनाको टोली थियो । तर, उनी प्रधानमन्त्री हुनासाथ दोहोरो सुरक्षा-व्यवस्था हटेपछि त्यसअघि उनको सुरक्षार्थ खटिएका जनमुक्ति सेनाका धेरैजसो सदस्य तालिम गर्न भन्दै डिभिजन फर्किएका थिए भने २२ जना नयाँबजारमा बस्दै आएका थिए । जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन पासाङले भने नियमित सरुवाअन्तर्गत टिम बदलिन लागेको बताए । 'हाम्रो सैन्य नियमावलीअनुसार नै सरुवा हुन्छ । हेडक्वाटरमा आउने-जाने प्रक्रिया पनि त्यहीअनुसार भइरहन्छ,' उनले भने । माओवादी जनमुक्ति सेनाको सूत्रका अनुसार प्रचण्डको सुरक्षा टोली परिवर्तन गर्ने विषयमा पार्टी र जनमुक्ति सेनाबीच छलफल र सहमति भइसकेको छ । पासाङले पनि पार्टीको निर्णयअनुसार हेडक्वाटरको सुरक्षा टिमको व्यवस्थापन गरिने पनि बताए । 'हेडक्वाटरले बोलाउन साथ नयाँ टिम आउँछ, त्यो स्वाभाविक हो,' उनले भने । प्रधानमन्त्री हुँदा प्रचण्डले नेपाली सेनाको पनि सुरक्षा पाउँदै आएका थिए । अब उनको सुरक्षाका लागि नेपाल प्रहरीका डिएसपी रामचन्द्र भण्डारीको नेतृत्वमा टोली खटिने भएको छ । गत साता काठमाडौंमा भेला भएका जनमुक्ति सेनाका कमान्डरहरूको बैठकमा पार्टी नेतृत्वको सुरक्षा टोली बदल्नेबारे छलफल भएको थियो । पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि निर्णय गरिएको हो । कमान्डरहरूले गत बुधबार माओवादी अध्यक्ष प्रचण्ड र बिहीबार वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए ।

No comments: