News

May 20, 2009

पहिलो पटक शरीरबाट छुट्टिएका दुवै हात शल्यक्रियाबाट जोडिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ६-त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक शरीरबाट छुट्टिएका दुवै हात शल्यक्रियाबाट जोडिएको छ। प्लाष्टिक सर्जन डा. ईश्वर लोहनी र डा.जयनमान श्रेष्ठको टोलीलाई दश घन्टा लामो शल्यक्रियापछि उक्त सफलता मिलेको हो। नक्सालस्थित मानसरोवर प्रिन्टिङ्ग प्रेसमा काम गर्ने हेटौडा लामिडाँडाका २१ वर्षीय शमसेर कार्कीको दुवै हात नाडीदेखि छुट्टिएको थिए। उनको बायाँ हातको डा.लोहनीले र दायाँको श्रेष्ठले शल्यक्रिया गरेका थिए। शरीरबाट छुट्टिएका दुवै हात जोडिएको नेपालमै यो पहिलोपटक हो। हात छुट्टिएका उनलाई राजधानीका विभिन्न अस्पताल हुदै दुई घन्टापछि शिक्षण अस्पताल पुर् याइएको थियो। 'किताब काट्न लागेको थिएँ मेसिनमा ब्लेडको लक कमजोर भएछ किताब निकाल्न भित्र हात हालेको समयमा झर् यो'- कार्कीले बुधबार शिक्षण अस्पतालको शैयाबाट भने- 'मेरो हात काटियो भनेर चिच्याएपछि अर्को भाई आएर निकाल्यो र हस्पिटल ल्याइएँ।'उनलाई राजधानीका अन्य केही अस्पताल पुर् याएपछि मात्रै दुई घन्टापछि शिक्षण अस्पताल पुर् याइएको थियो। 'अस्पताल ल्याइ पुर् याउँदा रगत धेरै बगिसकेको थियो छुट्टिएका हात पानीको बाल्टिनमा डुबाएर ल्याइएको थियो'- अस्पतालका सर्जन श्रेष्ठले भने 'त्यसपछि सुरक्षाका उपाय अपनायौ।' चिकित्सकीय भाषामा यसलाई 'रिप्लेस्मेन्ट सर्जरी' भनिन्छ।दुवै हात सफागरि नसा र हड्डी निश्चित गरेपछि नसा जोडेर रक्त साचार गराइएको थियो। जटील प्रकारको मानिएको शल्यक्रियामा रक्त नली चार, आर्टरी दुई, भेन दुई थाहा पाउने र चलाउने गरी टेन्डन गरेर पाँच थरिका नसा जोड्नु पर्छ। चिकित्सकका अनुसार शरीरका कुनै पनि अंग छुट्टिएको छ घन्टाभित्र अस्पताल पुर् याए अरु जटिलता छैन भने जोड्न मिल्छ। त्रिवि शिक्षण अस्पतालमा नै यसअघि डा. लोहनीले पाँचजनाको एउटा हात जोडिसकेका छन्।वैशाख २२ गते नै शल्यक्रिया गरिएको भएपनि हात जोडिएर औंलाहरु चल्न थालेपछि मात्रै अस्पतालले सफलता सार्वजनिक गरेको हो। 'सफलता नमिलेको भए फेरि हात काट्नु पथ्र्यो त्यसकारण अगाडि नै सार्वजनिक नगरिएको हो'- डा. लोहनीले नागरिकन्यूजसँग भने।चिन्ताजनक अवस्थामा ल्याइएका उनलाई आवश्यक रगत चढाई केही सुधार आएपछि प्लाष्टिक सर्जनको टोलीले दश घण्टा लामो अपरेसनपछि यो सफलता पाएको थियो। सफल शल्यक्रियामा एनेस्थेसिया टोलीको नेतृत्व डा.सुवास आचार्यले गरेका थिए । 'सुक्ष्म र जटिल शल्यक्रिया सफलताका लागि सर्जरी बाहेक अन्य धेरै कुरामा भर पर्छ। इमर्जेन्सी उपचार एनेस्थेसियाको चुस्त व्यवस्था र नर्सिङ सेवा बिना यस्तो सर्जरी संभव छैन्'- लोहनीले भने।शल्यक्रियापछि कार्कीलाई पाँच दिन सघन उपचार कक्ष आइसियू तीन दिन सर्जरी आइसियू र अहिले साधारण बेडमा राखिएको छ। उनी हातको औला चलाउन सक्छन्। 'मेरो जस्तै काम गर्ने साथीको यसरी नै काटिएको हात जोड्दा केही दिनमा कालो भएर आएको सुनेको थिएँ त्यसकारण हात जोडिएला भन्ने आसै थिएन'- कार्कीले भने ।कुराकानीका क्रममा कार्कीले जोडिएको हातका औंला चलाउँदै घरिघरि त्यतातिर हेरिरहेका थिए। 'मेसिन भित्र टुक्रा परेका हात यिनै हुन्'- उनले भने 'नयाँ जीवन पाएको जस्तै भएको छ।'उनी दुई सातापछि घर फर्किदैछन्। चिकित्सकहरुका अनुसार हातले राम्ररी काम गर्न लामो समयसम्म फिजियोथेरापी आवश्यक पर्छ। सर्जरीमा संलग्न चिकित्सक मध्ये लोहनी ११ वर्षदेखि कार्यरत छन्। शिक्षण अस्पतालले गरेका पाँचवटा शल्यक्रिया उनले नै गरेका थिए।

No comments: