News

May 20, 2009

तमिल टाइगरमाथि 'विजय' दाबीका साथ सार्वजनिक बिदा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलम्बो/ तमिल टाइगरमाथि 'विजय' प्राप्त भएको दाबीका साथ श्रीलंकामा बुधबार सार्वजनिक बिदा मनाइएको छ । सरकारले पनि राज्यका सबै निकायलाई एक सातासम्म राष्ट्रिय ध्वजा फहराउने आदेश जारी गरेको छ । तर, राज्य सुरक्षा सेनाले भने बदला लिने उद्देश्यले बचेखुचेका तमिल विद्रोहीबाट आक्रमण हुन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको बताएको छ । मंगलबार तमिल टाइगरका सर्वोच्च नेता भेल्लुपिल्लाई प्रभाकरणको लासको चित्र सार्वजनिक गरिएको थियो । कतिपयले यसमा शंका व्यक्त गरेका छन्, तर सरकारले तमिल टाइगरबाट विद्रोह गरी आएका नेता विनायकमूर्ति मुरलीथरनले प्रभाकरणको लासको सनाखत गरी पहिचान गरेको बताएको छ । कर्णेल करुणाका रूपमा चिनिने मुरलीथरनले पाँच वर्षअघि तमिल टाइगरसँग विद्रोह गरेका थिए र अहिले उनी श्रीलंका सरकारका मन्त्री छन् । रक्षा मन्त्रालयका वेबसाइटले पनि प्रभाकरणको पुष्टि गर्ने विस्तृत विवरण दिएका छन् । वेबसाइटका अनुसार पहिले भन्ने गरिएझैँ उनको लासमा साइनाइड क्याप्सुल भेटिएको थिएन । 'बरु उनको परिचयपत्र भने पाइएको थियो । सेनासँग एक्लै भिड्ने कुनै ताकत उनमा थिएन, अन्तिम क्षणसम्म पनि उनी आफ्नो जीवनरक्षाका लागि कोसिस गर्दै थिए । कहिल्यै पनि उनले आत्महत्याको प्रयास गरेका थिएनन् । एकजना सैनिकले उनीमाथि गोली चलाउनुअघि उनी आफ्ना सीमित संख्यामा रहेका अनुयायीलाई समेत छक्याएर भाग्न खोज्दै थिए । उनी कसरी मरे भन्नेमा हामी टिप्पणी गर्न चाहन्नाँै, तर सामान्यतया उनी कायरहरूमध्ये श्रेष्ठ थिए,' वेबसाइटमा भनिएको छ । मन्त्रालयले प्रभाकरणको लास मंगलबार मात्र फेला परेको बताएको छ । यसअघि सो लास सोमबार फेला परेको बताइएको थियो । सेनाले एक अर्को लास पनि फेला परेको बताएको छ । सेनाले मार्सी टापुमा फेला पारेको सो लास विद्रोही तमिलको नौसेनाका नेता सुसाईको भएको अनुमान गरिएको छ । उता राष्ट्रपति महिन्द्रा राजापाक्षेले विजय भाषण दिँदै आफ्नो मातृभूमि पृथकतावादी आतंकवादबाट पूरै मुक्त भएको दाबी गरेका छन् । राष्ट्रपतिले करिब दुई करोड जनसंख्या भएको हिन्दु तमिल समुदायमा पुगी अब हरेक श्रीलंकालीले निर्भयपूर्वक र निसंकोच रहन, बस्न सक्ने वचन दिएका छन् । 'सबैले उत्तिकै अधिकारका साथ बस्न पाऊन्, मेरो लक्ष्य त्यही हो,' तमिल भाषामा उनले भने । उनले युद्ध सकिएपछि केही किसिमको शक्ति बाँडफाँड गर्न सकिने र सहमतिमा पुग्नुपर्ने आवश्यकतासमेत औँल्याएका छन् । 'हामीले आफ्नै भूमिमा विकसित समाधान खोज्नुपर्छ र त्यस्तो समाधान सबै समुदायका लागि मान्य हुनुपर्छ,' राष्ट्रपतिको भनाइ थियो ।

No comments: