News

May 26, 2009

बाँदर भगाउने घाँस मोलासेस जातको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वतको भंगरा गाविसका किसान गंगाप्रसाद शर्मा बिहान वेलैमा खेतीपातीको काममा निस्कन्थे । फर्केर घर आउँदा खाना पकाएर राखेको कसौँडी रित्तै हुन्थ्यो । एक दिन/दुई दिन होइन, बारम्बार यस्तो हुन थाल्यो । सुरुसुरुमा त छक्क पर्थे उनी । तर, निरन्तर कसौँडीको भात गायब भएपछि उनले थाहा पाए, भात त बाँदरलाई पो आहारा बनेको रहेछ ।पीडा गोविन्दको मात्रै होइन, पहाडी जिल्ला पर्वतका धेरैजसो किसान यसरी नै बाँदरबाट आजित भइरहेका छन् । खेतबारीको अन्नबाली खाएर सताएका कथा/व्यथा त कति छन् कति । परिवारको गर्जो टार्न बिहानदेखि बेलुकासम्म खेतबारीमा कुटोकोदाली गरेर चार माना फलाउने किसान बाँदरबाट सताउनु सताइएका छन् । दुःख गरेर बाली भित्र्याउने वेलामा बाँदरले सखाप पारेपछि वर्षैपिच्छे अत्तालिने किसानहरू अहिले नौलो जुक्ति अपनाएर खेती-सुरक्षामा खटिन थालेका छन् । किसानहरू घाँसखेतीको प्रयोगद्वारा बाँदर धपाउने उपाय खोजिरहेका छन् । बाँदर भगाउन छाप्रो हालेर बस्ने, टिन ठटाउने गर्दै आएका उनीहरूले मोलासेस र स्टाइलो नामक घाँसखेती गरेर काइदाको तरिका अपनाएका हुन् । बाँदर लखेट्न हरेक दिन एकजनाले खेतबारी कुरेर बस्नुपथ्र्यो । तर, अब ती दिन फेरिएका छन् । दिनभरि खेतबारी कुर्नुपर्ने दैनिकी फेर्न उनीहरू अभियानकै रूपमा बाँदर भगाउने मोलासेस जातको घाँस खेतबारीका कान्ला-कान्ला र डिल-डिलमा रोप्न थालेका छन् । झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ, घाँस रोपेर पनि बाँदर भाग्छ त ? तर, पर्वतका अधिकांश गाविसका किसानसँग घाँस रोपेपछि बाँदर भागेको अनुभव छ । मकै र धानखेती बाँदरले नोक्सान बनाएपछि पर्वतका मुडिकुवा, ठानामौला, भंगारा, लुंखुदेउराली, पाखापानी, हुवास, त्रिवेणी, टकलाकलगायतका गाविसका किसान यस जुक्तिमा लागेका हुन् । सो घाँस वस्तुभाउका लागि पनि पोषिलो आहारा हुने र बाँदर-प्रकोप पनि कम हुने भएकाले किसानका बीचमा लोकपि्रय बन्दै गएको छ । मोलासेस घाँसको पात र फूल बाँदरको जीउमा टाँस्सिएपछि त्यो निकाल्न खोज्दा रौँसमेत उक्किने र घाउ बन्ने गर्छ । 'बाँदरको घाउ' भन्ने नेपाली उखानजस्तै रौँ उखेल्दा घाउ बनेपछि बाँदर आउन छाड्ने कुरा परीक्षणका क्रममा पुष्टि भएकाले यस घाँसलाई बाँदरविरुद्ध रोप्न थालिएको हो ।

No comments: