News

May 23, 2009

संलोरामको कार्यकारी अध्यक्षमा बुद्धिष्टपछि लक्ष्मण थारु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी. बी. आङ्बुङ
जेठ ९, २०६६,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय कार्य समितिको २० औं पूर्ण बैठक मिति २०६६ जेठ ६,७ र ८ मा मञ्चको संघीय कार्यालय अनामनगर काठमाडौंमा विभिन्न निर्णयहरू गरी सम्पन्न भएको छ ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय संरचनामा स्थापित एवम् सञ्चालित राजनीतिक पार्टी भएको र यसको कार्यकारी अध्यक्षको चयनका लागि अध्यक्ष मण्डलको व्यवस्था भई प्रत्येक स्वायत्त राज्य परिषद्का अध्यक्ष तथा मञ्चका अध्यक्ष मण्डल सदस्यहरु एक-एक वर्ष कार्यकारी अध्यक्ष हुने प्रावधान रहेको छ । यही प्रावधान अनुसार कार्यकारी अध्यक्ष डी.के. बुद्धिष्ट तामाङको एकवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बैठकको निष्कर्ष रह्यो । बुद्धिष्टको एकवर्षे सफल कार्यकालको लागि वहाँलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापनसमेत गरिएको छ । साथै, मञ्चको सोही २० औं पूर्ण बैठकले मञ्चको कार्यकारी अध्यक्ष पदमा मञ्चका अध्यक्ष मण्डल सदस्य तथा मञ्चसम्वद्ध थरुहट स्वायत्त राज्य परिषद्का अध्यक्ष लक्ष्मण थारुलाई मञ्चका अध्यक्ष मण्डल सदस्यबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको कार्यकारी अध्यक्षमा मञ्चको विधान २०६२ को धारा २२ (८) अनुसार पदस्थापन तथा हस्तान्तरण गरेको छ ।अहिलेको राष्ट्रिय राजनीतिक घट्नाक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सरकार ढाल्ने र निर्माण गर्ने अङ्क गणितीय खेलमा सहभागी नहुने पार्टीको निर्णय थियो । तर, मञ्चका सभासद्हरु राजकुमार लिम्बू नाल्बो र रुकमिणी चौधरी थारुले मञ्चको अधिकारिक निर्णय र नीतिविपरीत एमाले-कांग्रेसको गठबन्धनलाई र्समर्थन गर्दै हस्ताक्षर गर्न पुगे । उक्त हस्ताक्षर काण्डमा मञ्च र मञ्चका नेताहरुको कुनै संलग्नता नदेखिएको र सो घट्ना मञ्चको इतिहासमै ऐतिहासिक गद्धारी, अपूरणीय त्रूटि र अक्षम्य गल्ती भएको मञ्चले ठहर गरेको छ ।मञ्चको नेतृत्वमा देशव्यापी रुपमा सञ्चालन गर्नुपर्ने राष्ट्रिय मुक्ति आन्दोलनको लागि मञ्चका नव स्थापित कार्यकारी अध्यक्ष लक्ष्मण थारुको संयोजकत्व र संघीय सचिवालयको पहलमा आवश्यक तयारी गरी सम्पूर्ण कार्य अघि बढाउने निर्णय गरेको छ ।यसका साथै, मिति २०६६ जेठ १८ गते नेपाः राष्ट्रिय पार्टीनगायतका नेवाःसम्वद्ध राजनीतिक तथा सामाजिक संघ संगठनको आयोजनामा सम्पन्न हुने नेवाः राज्य प्राप्तिको लागि नेवाः मण्डल बन्दको आन्दोलनलाई हाम्रो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ऐक्यवद्धता जाहेर गर्दै सहभागितासहित पूर्णरुपमा सहयोग गर्ने निर्णय गरेको छ ।

No comments: