News

May 27, 2009

कटवाललाई कारबाही गर्ने प्रधानमन्त्रीको हातमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ जेठ माओवादी नेतृत्वको सरकारले गरेको प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्ने निर्णय फिर्ता लिने/नलिने जिम्मा मन्त्रिपरिषद्ले प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धमा सामान्य छलफलपछि निर्णय लिने अधिकार प्रधानमन्त्रीलाई सुम्पेको हो । यसअघि बिहान बसेको सरकारको समर्थनमा रहेका २२ दलको बैठकले प्रधानसेनापतिलाई कारबाही गर्नेलगायतका पूर्ववर्ती सरकारले गरेका केही निर्णय उल्ट्याउन एमाले नेतृत्वको सरकारलाई सुझाव दिएको थियो । माओवादी नेतृत्वको सरकारले गत २० वैशाखमा प्रधानसेनापति कटवाललाई कारबाही गर्दै दोस्रो बरियताका कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयप्रति सरकारमै सहभागी दलहरूले समेत विरोध जनाएपछि राष्ट्रपति डा. रामवरण यादवले सेनापतिलाई पत्र पठाउँदै पदमा बहाल रहन निर्देशन दिएका थिए । मन्त्रिपरिषद् बैठकले सेनापति कटवालमाथि गरिएको कारबाही फिर्ता गर्ने/नगर्ने सम्बन्धमा छलफल गरेको थियो । 'सामान्य छलफल भयो । निर्णय लिने-नलिने अधिकार प्रधानमन्त्रीको जिम्मा दिइएको छ,' बैठकपछि अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरूसित भने । बैठकले कोसी बाढीबारे स्थलगत अध्ययन/अवलोकन गर्न तीन सदस्यीय उच्चस्तरीय टोली पठाउने निर्णय गरेको छ । अर्थमन्त्री पाण्डेका अनुसार गृह, भौतिक योजना तथा निर्माण र जलस्रोत मन्त्रालयका सचिवहरू संलग्न उच्चस्तरीय टोलीलाई स्थलगत अवलोकनमा जान निर्देशन दिइएको छ । बैठकले प्रधानमन्त्री नेपालको राजनीतिक सल्लाहकारमा एमाले नेता रघुजी पन्त र प्रेस सल्लाहकारमा पत्रकार विष्णु रिजाललाई नियुक्त गरेको छ । पूर्वमन्त्री पन्त एमाले पोलिटब्युरो सदस्य हुन् भने रिजाल बुधबार साप्ताहिकका सम्पादक तथा एमाले प्रचार विभागका सदस्य हुन् । त्यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा यादवचन्द्र शर्मा नियुक्त गरिएका छन् । बैठकले आगामी १५ जेठमा गणतन्त्र दिवस भव्यताकासाथ मनाउने निर्णय गरेको छ । सोही दिन रत्नपार्कमा गणतन्त्र स्तम्भको शिलान्यास गर्ने निर्णय पनि गरिएको छ । कणर्ाली क्षेत्रमा देखिएको खाद्यान्न संकट तत्काल सामाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।

No comments: