News

May 19, 2009

सीमा अवलोकन नसकी टोली राजधानी फर्किए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अतिक्रमित सीमा अवलोकन गर्न तीन दिनको समय लिई आएको टोली कार्य सम्पन्न नै नगरी २४ घन्टाभित्रै राजधानी फर्किएको छ । टोलीले दुई सय ६४ स्थानमध्ये एक गाविसको दुई स्थानको सीमास्तम्भ मात्र निरीक्षण गर्‍यो । अति जरुरी काम पर्‍यो भन्दै टोलीले दक्षिण झटिकैयाको सीमा क्षेत्रका दुई स्थानको मात्रै अध्ययन टिपोट गरी सोमबार दिउँसो बुद्ध एयरको उडानबाट राजधानी फर्केको हो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको टोली आइतबार दिउँसो ४:३० बजे बारामा ओर्लिएको थियो । तीन दिनको कार्यक्रम रहेको भए पनि अति जरुरी कामले गर्दा सोमबार नै फिर्ता भएको बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले बताए । उनले भने, 'उहाँहरूले त्यस्तै परे फेरि जिल्ला आउने जानकारी दिनुभएको छ ।' दुई स्थानबाटै फर्केको टोलीले बनाएको प्रतिवेदन अपुरो हुने भन्दै स्थानीय पीडित बासिन्दाले अन्य अतिक्रमित क्षेत्रको समेत भ्रमण गर्नुपर्ने माग गरेका छन् । जिल्ला टेक्नेबित्तिकै टोलीका संयोजक नवीन्द्रराज जोशीले अतिक्रमित सीमाक्षेत्र पूरै अध्ययन अवलोकन गरी संसदीय समितिमा प्रतिवेदन पेस गर्ने आश्वासन दिएका थिए । जोशीको संयोजकत्वमा रहेको टोलीमा सभासद् सावित्री काफ्ले र परराष्ट्रका उपसचिव पुष्कर गौतमसहित नापी विभागका अधिकृत शशीनरसिंह रायमाझी सहभागी थिए । बाराको नौ गाविसका ६८५ वटा सीमास्तम्भमध्ये दुई सय ६४ वटा सीमास्तम्भ बेपत्ता भएको सीमा सुरक्षा बलका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक शिवबहादुर मल्लले आइतबार टोलीलाई जानकारी गराएका थिए । सीमा सुरक्षा बलले सीमास्तम्भ बेपत्ता भएको र हजारौँ बिघा जग्गा अतिक्रमण भएको जानकारी गराउँदा गराउँदै पनि उक्त टोलीले एक गाविसको दुई स्थानको मात्र स्तम्भ निरीक्षण गरेको हो । पीडित नौ गाविसका बासिन्दाले आफ्ना पिर-मर्का सुनाउन सोमबार दिनभर कुरे पनि टोली फर्केको खबर पाएपछि निराश बनेका थिए । टोलीले गरेको अध्ययन अवलोकन अपुरो रहेको र यो अध्ययनलाई आधिकारिक रूपमा पुष्टि भएको मान्न नसकिने नागरिक समाजका वसन्त खतिवडाले बताए । सीमामा पुग्नेबित्तिकै टोलीका संयोजकले पत्रकारमाझ सीमास्तम्भ छुँदै फोटो खिचाएका थिए ।

No comments: