News

May 28, 2009

बार्सिलोनाले यस वर्ष तेस्रो फुटबलको उपाधि चुम्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोम/ पूर्ववाचाअनुरूप प्रशिक्षक पेप गार्डियालोले बार्सिलोनालाई यस वर्ष तेस्रो उपाधिका रूपमा प्रतिष्ठित युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि चुमाएका छन् । स्थानीय समयअनुसार बुधबार राति सम्पन्न फाइनलमा साविक विजेता म्यानचेस्टर युनाइटेडलाई २-० ले हराउँदै बार्सिलोना उपाधि चुम्न सफल भयो । ३८ वर्षीय 'चतुर' प्रशिक्षकले फाइनलमा बार्सिलोनालाई सफलता दिलाउने दाबी गर्दै आएका थिए । 'तिमी बहादुर छौ भने अगाडि बढ्न सक्छौ, त्यो नै राम्रो मौका पनि हुनेछ,' गार्डियालोले भनेका थिए, 'जोखिम नमोल्नुजस्तो जोखिम केही हुँदैन ।' युरोपकै सो प्रतिष्ठित प्रतियोगिताको खेलाडी (१९९२) र प्रशिक्षक दुवै पात्रका रूपमा जित्ने उनी छैटौं व्यक्ति पनि बने । उनले खेलअघि नै खेलको सिठी बजेलगत्तै स्पेनी च्याम्पियनले आक्रामक खेल खेल्ने बताएका थिए । 'हामीले आक्रमण गर्‍यौं, हामीले रक्षा गर्‍यौं तथा हामीले जित्यौं,' गार्डियालोले भने, 'समग्रमा भन्नुपर्दा हामीले सोचेअनुरूप राम्रो खेल्यौं ।' सामुयल इटोले १०औं मिनेटमा नै गोल गरेपछि बार्सिलोना विजयपथमा लम्किएको थियो । खेलको ७०औं मिनेटमा लियोनल मेसीले 'हेड' गोल गरेपछि त म्यानचेस्टर युनाइटेडको बाँकी सम्भावनासमेत समाप्त भयो । 'हामी र उनीहरू (म्यानचेस्टर) बीच जितको बराबरी सम्भावना थियो, तर अन्त्यमा हामीले खेलमा नियन्त्रण कायम गर्‍यौं र त्यही नै हाम्रो लागि राम्रो रह्यो,' गार्डियालो भन्छन्, 'किनभने बल आपनो नियन्त्रणमा रहेन भने हामी ध्वस्त हुन्छौं ।' सो सफलतासँगै बार्सिलोना एकै सिजनमा तीन उपाधि (च्याम्पियन्स लिग, घरेलु लिग तथा कप) जित्ने म्यानचेस्टर युनाइटेड, एजाक्स, सेल्टिक र पिएसभी इन्डहोभनको समकक्षमा उभियो । यसले गार्डियालोको बार्सिलोनाको पहिलो वर्षको कार्यकाललाई अविस्मरणीय पनि बनायो । उता, खेल समाप्तिपछि खुसियाली मनाउन स्पेनको बार्सिलोनाका सडकमा निस्किएका बार्सिलोनाका केही उदण्ड समर्थकहरू प्रहरीको पञ्जामा पनि परे । तोडफोड र झगडा गरेका कारण झन्डै एक सयजना समातिए भने एक सय ५३ जना घाइते भएको जनाइएको छ । अनियन्त्रित भीडलाई शान्त पार्न प्रहरीले रबरको गोलीसमेत प्रहार गर्‍यो ।

No comments: