News

May 28, 2009

श्रीमान्ले आफ्नी श्रीमतीलाई जिउँदै जलाउने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिराहा, १४ जेठ सिराहाका एक श्रीमान्ले आफ्नी ४० वषीया श्रीमतीलाई बिहीबार जिउँदै जलाउने प्रयास गरेका छन् । गोविन्दपुर-५ झिटकीका महेन्द्र यादवले ४० वर्षीया श्रीमती कुमारीदेवीलाई भकभकी उम्लिएको पानी टाउकोबाट खन्याइदिएका छन् । उम्लिएको पानीले कुमारीदेवीको आधा शरीर जलेको छ । महेन्द्रले बिहान खाना खाइरहेका वेला तातोपानी खन्याइदिएको कुमारीदेवीका देवर श्रीप्रसाद यादवले बताए । घाइते कुमारीदेवीको लाहानस्थित रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा उपचार भइरहेको छ । श्रीमान् सधैं रक्सी पिएर आई आफूलाई कुटपिट गर्ने गरेको अस्पतालमा उपचार गराइरहेकी कुमारीदेवीले बताइन् । उनले नयाँ पत्रिकासँग भनिन्, 'मलाई पाठेघर खस्ने रोग छ, उपचार गरिदिन आग्रह गर्दा उम्लिएको पानी शरीरभर खन्याए ।' उपचार गराइदिन आग्रह गर्दा श्रीमान्ले पटकपटक कुटपिट र यातना दिने गरेको कुमारीदेवीले गुनासो गरिन् । आफूलाई हेर्न अस्पताल पुगेका महिला अधिकारकर्मीसमक्ष आँखाभरि आँसु पार्दै उनले भनिन्, 'श्रीमान् सधैं कुट्छन्, मलाई हेर्ने कोही भएन ।' आफूलाई यातना दिने श्रीमान्लाई कारबाही गरिदिनसमेत कुमारीदेवीले आग्रह गरेकी छिन् । श्रीमतीलाई तातोपानी खन्याएर हत्या गर्न खोज्ने महेन्द्रलाई कारबाही गर्न ओरेक नेपाल सिराहाकी संयोजक श्यामकुमारी साहले प्रशासनसँग माग गरेकी छिन् । महेन्द्रलाई ज्यान मार्ने उद्योग गरेको मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउन उनले सुझावसमेत दिएकी छिन् । श्रीमतीको हत्या प्रयास गर्ने महेन्द्रलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

No comments: