News

May 26, 2009

कोइरालानिवासमा सरकारमा भाग खोज्दै विजयकुमार गच्छदार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरमका संसदीय दलका नेता विजयकुमार गच्छदारले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेटी आफूलाई मधेसी मोर्चाको तर्फबाट सरकारमा राख्न माग गरेका छन् । गच्छदारको नेतृत्वमा मधेसी नेताहरूको समूह मन्त्रालयको बार्गेनिङका लागि कोइरालानिवास पुगेको थियो । भेटमा गच्छदारले सरकारलाई लामो समय टिकाउन र समयमा नै संविधान निर्माण गर्न फोरमका तर्फबाट आफूले नै सरकारमा नेतृत्व गर्नुपर्ने दाबी गरेका थिए । फोरम, तमलोपा, सद्भावनाका नेताहरूसँग कोइरालाले सबैलाई समेटेर सरकार विस्तार गर्ने आश्वासन दिए । तर मोर्चाका नेताहरूले फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाश गुप्ताको असहमतिका बाबजुत ३२ जना फोरमका सभासद्ले एमाले नेता माधवकुमार नेपालको पक्षमा हस्ताक्षर गरेको भन्दै गच्छदारको नेतृत्वमा नै फोरमलाई सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिए । फोरम संसदीय दलका नेता गच्छदारले कांग्रेस सभापति कोइरालालाई आफूले पार्टीभित्र आप्ठ्यारो सहेर पनि कांग्रेस, एमालेको गठबन्धनलाईर् समर्थन गरेको बताए । पार्टी अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाश गुप्ताले पछि मात्र गठबन्धनलाई समर्थन गरेको उनको भनाइ थियो । गच्छदारको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'मैले पार्टीमा ठूलो संघर्ष गरेर समर्थन जुटाएको हुँ, त्यसतर्फ पनि तपाईंले ख्याल गरी दिनुहोला ।'

No comments: