News

May 26, 2009

सरकारमा सहभागी हुन माओवादीलाई आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ जेठ प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन माओवादीलाई आह्वान गरेका छन् । शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र तोकिएको समयभित्र नयाँ संविधान लेख्न सहमति र एकता अपरिहार्य भएकोमा उनले जोड दिए । प्रधानमन्त्री भएपछि मंगलबार देशवासीलाई सम्बोधन गर्दै नेपालले भने,'हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्तिप्रक्रियालाई मिलेरै टुंगोमा पुर्‍याउनुपर्छ । बाह्रबँुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन । म एकीकृत नेकपा -माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु । सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ ।' प्रधानमन्त्री नेपालले नयाँ सरकार नागरिक सर्वोच्चताकै आधारमा गठन भएको दाबी गरे । उनले घुमाउरो भाषामा माओवादीले नागरिक सर्वोच्चतालाई आफ्नोअनुकूल परिभाषा गरिरहेको आरोप पनि लगाए । 'एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोसाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन । न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ,' प्रधानमन्त्री नेपालले भने ।

No comments: