News

May 29, 2009

प्रधानमन्त्रीव्दारा रत्नपार्कमा 'गणतन्त्र स्तम्भ'को शिलान्यास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १५ गते । गणतन्त्र स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री माधवकुमार नेपालले रत्नपार्कमा शुक्रबार 'गणतन्त्र स्तम्भ'को शिलान्यास गर्नुभयो । जेठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्रको सम्झना र झल्को दिनेगरी राजधानीको केन्द्रबिन्दु मानिने रत्नपार्कमा गणतन्त्र स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो ।भौतिक योजना तथा निर्माण मन्त्रालयद्वारा शुक्रबार बिहान आयोजित 'गणतन्त्र स्तम्भ' शिलान्यास कार्यक्रममा जानकारी गराइएअनुसार नारायणहिटी दरबार सङ्ग्रहालयभित्र निर्माण गरिने 'गणतन्त्र स्मारक' र रत्नपार्कमा निर्माण गरिन लागिएको 'गणतन्त्र स्तम्भ' फरक भौतिक निर्माण हो ।स्मारक निर्माण कार्यलाई रद्द गरी रत्नपार्कमा गणतन्त्र स्तम्भ निर्माण गर्ने निर्णय प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिमण्डलले गरेको भन्ने चर्चामा सत्यता नभएको बताउँदै भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव उमाकान्त झाले भन्नुभयो- "नारायणहिटी सङ्ग्रहालयमा बन्ने गणतन्त्र स्मारक र रत्नपार्कमा बन्ने गणतन्त्र स्तम्भ फरक भौतिक निर्माण हुन् । यसमा कसैले भ्रम नपाले हुन्छ । स्मारक र स्तम्भ शब्दले नै पृथकता जनाउँछ ।"सचिव झा भन्नुहुन्छ-"काठमाडौँ प्रवेश गर्ने जो कोहीले देख्नेगरी कलात्मक, आकर्षक र अग्लो स्तम्भ निर्माण गरिनेछ, जसले गणतन्त्रको अनुभूति पनि गराओस् ।""काठमाडौँ प्रवेश गर्दा भीमसेन स्तम्भ -धरहरा)लाई जसरी सबैतिरबाट देखिन्छ, त्यही हिसाबले गणतन्त्र स्तम्भ निर्माण गरिनेछ", सचिव झाले भन्नुभयो- "गणतन्त्र स्तम्भको डिजाइनका लागि विज्ञहरू, राजनीतिक दलहरूसँग छलफल र सार्वजनिक सूचना गरेर नागरिक समाजसँग सुझाव माग गरिनेछ । सम्भवतः गणतन्त्र स्तम्भ धरहराभन्दा अग्लो हुनेछ ।"वातावरण एवं संस्कृतिविद्हरूले रानीपोखरीको सम्पदालाई हानि पुर्‍याउने गरी भौतिक निर्माण गर्न नहुने भन्दै विरोधका स्वर पनि सुनिन थालिएको प्रसङ्गमा सचिव झाले भन्नुभयो- "रानीपोखरीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा कुनै हानि पुर्‍याउने गरी गणतन्त्र स्तम्भ निर्माण गरिँदैन । त्यसका लागि सबै पक्षसँग व्यापक छलफल गर्छौं ।"नेकपा -माओवादी) नेतृत्वको पूर्व सरकारले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र गणतन्त्र स्मारक बनाउने निर्णय गरेको थियो । सो प्रयोजनका लागि पाँच करोड रुपियाँ बजेट विनियोजनका साथै स्मारक निर्माणका लागि विस्तृत डिजाइन कार्यसमेत भइसकेको छ । सचिव झाका अनुसार गणतन्त्र स्मारकमा लोकतान्त्रिक आन्दोलन र गणतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्झनामा विभिन्न भौतिक निर्माण गरिनेछ । सहिदको सम्झना गर्न हल, चारवटा स्तम्भलगायत भौतिक निर्माण नारायणहिटी स्मारकमा गरिने जनाइएको छ ।यसैगरी, शुक्रबार बिहान गणतन्त्र दिवस नागरिक संयोजन समितिले 'लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गरौँ' भन्ने नाराका साथ र्‍याली र कोणसभा गरेर मनाएको छ । डा. नेत्रप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित सो समितिको र्‍याली भृकुटीमण्डप, पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा वरिष्ठ अधिवक्ता एवं मानवअधिकारवादी दमननाथ ढुङ्गानाले लोकतन्त्र मजबुद नभई गणतन्त्र संस्थागत नहुने बताउनुभयो । "लोकतन्त्र बचाउन सकेनौँ भने फेरि पनि युवाले रगत बगाउनुपर्ने दिन आउनसक्छ", वरिष्ठ अधिवक्ता ढुङ्गानाले भन्नुभयो- "लोकतन्त्र र गणतन्त्र अभिभाज्य छ । यसलाई छुटाउन खोजियो भने फेरि भिडन्त हुन्छ ।"उहाँले राजनीतिक दलहरूमा प्रतिगमनकारी शक्तिहरू सल्बलाउन थालेको आरोप लगाउँदै अग्रगमनका लागि १२ बुँदे समझदारीदेखिको समीक्षा गर्दै नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा डा.नेत्रप्रसाद तिम्सिना, डा.मथुरा श्रेष्ठ र सुनिता दनुवारले मन्तव्य राख्नुभएको थियो ।

No comments: