News

May 27, 2009

नेपाली चलचित्रमा बलिउड सिरियलकी प्रेरणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दी सिरियल 'कसौटी जिन्दगी'मा अभिनय गरेर चर्चा बटुलेकी अभिनेत्री श्वेता तिवारी (प्रेरणा) ले अभिनय गरेको नेपाली चलचित्र काठमाडौका हलमा प्रदर्शन हुने भएको छ । शुक्रबारदेखि विश्वज्योतिलगायत दर्जन हलमा प्रदर्शन हुन लागेको चलचित्र त्रिनेत्रमा उनले मुख्य भूमिका निर्वाह गरेकी छिन् । भोजपुरी र नेपाली दुई भाषामा निर्माण भएको उक्त चलचित्रमा प्रेरणाको जोडी बनेका छन्, निखिल उप्रेती । मनोज नारायणको निर्देशन रहेको त्रिनेत्र पारिवारिक प्रेमकथामा निर्माण भएको चलचित्रका प्राविधिक निर्देशक सानुकाजी शाक्यले बताए । भोजपुरी चलचित्र सास ननद और भौजाईमा काम गर्ने क्रममा प्रेरणासँग भेटेका सानुले प्रेरणाको नेपाली चलचित्रप्रति मोह भएकै कारण अभिनयका लागि आग्रह गरेका थिए । 'नेपाली चलचित्रको विषयमा प्रेरणाले धेरै नै चासो राख्दिरहिछन्, त्यही कारण हामीले उनलाई प्रस्ताव राख्यौँ,' सानुले भने । तीन चरण कुरा गरेपछि सुटिङका लागि राजी भएकी प्रेरणाले सुटिङको सिलसिलामा १४ दिन काठमाडौंमा बिताएकी थिइन् । प्रेरणासँग काम गर्दाको अनुभव सुनाउँदै सानु भन्छन्, 'भारतीय कलाकार अलि बढी व्यावसायिक हुँदारहेछन्, नेपाली हिरोइनलाई जस्तो सबै कुरा सिकाइरहनु नपर्ने हुनाले काम गर्न सजिलो भयो ।' पहिलोपटक प्रेरणालाई काम गराएका सानुले अरू चलचित्रमा पनि उनलाई काम गराउने योजना रहेको सुनाए । 'अरू फिल्ममा काम गर्ने विषयमा हाम्रो सल्लाह भइसकेको छ, तर कहिले गर्ने टुंगो लागिसकेको छैन,' उनले भने । त्रिनेत्रमा काम गरेपछि अभिनेत्री प्रेरणा नेपाली चलचित्रप्रति थप सकारात्मक भएको सुनाए सानुले । नेपाल र भारतका कतिपय रीति-रिवाज समान भएकाले पनि प्रेरणा नेपाली चलचित्रमा काम गर्न पाएकोमा खुसी थिइन्,' सानु भन्छन् । प्रेरणाको अतिरिक्त उषा पौडेल, रमेश बुढाथोकी, सम्पदा गिरीलगायतकाले पनि यसमा अभिनय गरेका छन् भने काठमाडौंमा वितरणको जिम्मा भगवती फिल्मस्ले लिएको छ ।

No comments: