News

May 28, 2009

हङकङमा वान्तवा र यन. बी. यायोक्खाबाट सम्मानित

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/राई चन्द्र दुमी
किराँत राई यायोक्खा हङकङले दुई किराँत प्रतिभाहरुलाई सम्मानित गरेको छ । विदेशमा बसेर नेपाली साहित्यमा अग्रणी भूमिका खेलिरहेका रामकृष्ण बान्तवा र पावर लिफि्टङमा एसिया सेकेण्ड रनरअप नर बहादुर राई (यन. बी.) लाई यायोक्खा हङकङले गत १७ तारिखका दिन आफ्नो किराँत चलनअनुसार फेटा गुथी प्रशंसा पत्रको साथमा सम्मान गरेको छ ।कविता संग्रह, गीतिनाटक, नाटक र उपन्यास गरेर आजसम्म १२ कृति प्रकाशन गरिसकेका बान्तवा “सघन तुवाँलो,, एक सामाजिक उपन्यास प्रकाशित भएपछि चर्चाको शिखरमा पुगेका थिए भने त्यही उपन्यासलाई अमेरिकन प्रकाशकले अंग्रेजी अनुवादको प्रकाशन गरेपछि राई अन्तर्राष्ट्रिय स्तरमा चिनिँदै अरु उचाइमा पुगेका हुन् । “द श्रील मिस्ट” भनेर अंग्रेजी अनुवाद भएको सघन तुवाँलोले नेपालका पत्रिका, भीडीओ मैगजिन, टेलीभिजन, एफएम रेडियोहरुमा निरन्तर स्थान पाउन थालेपछि किराँत राई यायोक्खा हङकङले बान्तवाको प्रतिभाहरुको खोजी गर्न शुरु गरेको हो । किराँतहरुले बडो महत्व दिने किराँत मुद्धुमहरुसमेत सिलसिलेवर समेटिएको सघन तुवाँलो नारी प्रधान उपन्यास हो । “सरल भाषामा सफलताकोसाथ सामाजिक बिकृतिहरु चिर्नु, समसामयिक र गहन कथासार र शिल्प शैलीको सुन्दर त्रिवेणीको कारण नै बान्तवा चर्चाको शिखरमा पुगेका हुन्” एक हङकङेली साहित्यकारको भनाइ छ ।खोटाङ खार्ताम्छा २ चोखानेका नर बहादुर राई (यन. बी) गएको ५, ७ वर्षदेखि हङकङमा भारत्तोलन खेल खेल्दै आएको कुशल खेलाडी हुन् । गत वर्षहरुमा उल्लेख्य प्रस्तुति दिन निरन्तर साधना र खानाको ब्यालेन्स मिलाउन थालेपछि गएको २ वर्ष वरिपरि उनमा असामान्य विकास भएर आयो । आज आएर एसियाकै तेश्रो स्थानमा पुगेका नर बहादुर २००८ को हङकङ गोल्ड मेडलिस्ट र रेकर्ड होल्डर हुन् । धेरै क्षेत्रीय गेमहरुमा भाग लिँदै प्रतिस्पर्धा जित्दै आएका उनले हङकङमै आयोजित एसियन गेममा हङकङ राष्ट्रिय टिमबाट सहभागी भई भर्खरै सेकेण्ड रनर अप उपाधिकोसाथ पुरस्कार र ट्रफीहरु प्राप्त गरेका छन् । मिडियाको खासै आँखा पर्न नसकेको उनी यसअघि साधारण गेमहरुमा भने उत्कृष्ट हुँदै आए पनि स्तरीय गेम प्रतिस्पर्धामा सालाखाला उपाधिहरु मात्र हातलागी गर्दै आएका थिए ।युनलङस्थित किराँत चुल्हामा प्रतिभाहरुलाई सम्मान र साकेवा कलाकारहरु समेतलाई ताइतोङमा बीबीक्यू दिने भनिएकोमा राईहरुको ठूलै जमघट हुँदै गएर चुल्हामा नअट्ने सम्भावना बढ्दै गएपछि बीबीक्यू स्पट ताईतङमै सम्मान कार्यलाई पनि पुर्‍याइएको थियो ।बीबीक्यू कार्यक्रमपछि बेलुकिपख सम्पन्न भएको औपचारिक कार्यक्रमलाई संस्थाको सचिव शशि मदन राईले सञ्चालन गरेका थिए । अध्यक्ष नरहाङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा यायोक्खा हङकङ भू.पू. अध्यक्ष हेजेन राई, आदिवासी जनजाति महासंघ हङकङ अध्यक्ष भूपेन्द्र चेम्जोङ, सल्लाहकार गेन चाम्लिङ, सल्लाहकार बसन्त कुमारी राई, सल्लाहकार राम्ली राई, यायोक्खा भू.पू. सचिव तथा सनराइज साप्ताहिकको तर्फबाट राई चन्द्र दुमीको आतिथ्य रहेको थियो । उपस्थित अतिथि वर्ग तथा समुदायलाई स्वागत गर्दै सहसचिव मोति चाम्लिङले २ प्रतिभाहरुको चर्चा गरेका थिए ।अभिनन्दनपछि सम्मानित ब्क्यक्तिहरु व्दयलाई पनि मन्च दिइएको थियो । लेखक रामकृष्ण बान्तवाले मन्तब्य दिनुअघि आफ्नो तर्फबाट आफ्ना अंग्रेजी नेपाली २ कृतिहरु यायोक्खा हङकलाई भनेर अध्यक्ष नरहाङ राईलाई हस्तान्तरण गरेका थिए । दुबै प्रतिभाहरुले आआफ्नो क्षेत्रबाट आफ्नो जातिको नाम उच्चो राख्न समग्र नेपाललाई चिनाउने कार्यमा तनमनले लागिरहन आजको यस सम्मान कार्यले अरु हौसला बढेको र आफूहरुलाई अरु जिम्मेवारी थपिएको महशुस गरेको छौँ भन्ने कुरा बताएका थिए । हर्षविभोर रामकृष्णले आफ्नो बोल्ने क्रममा जय जय यायोक्खा, छेकुलुङ, हेन्कुवुङ, यलम्बर हाङ, पारुहाङ सुम्निमा भनेर अन्तरहृदयबाटै उदघोष गरेको थिए । सोझो सीधा र साधारण नर बहादुर राईले भावविभोर हुँदै भने -”हङकङकै झण्डा उठाएर भए पनि हङकको क्वलमा मैले एउटा शिल्ड राखिलिएको छु तर त्यो कसले राख्यो भन्दा हामी नेपालीले राखेको भन्ने नै प्रचार हुँदोरहेछ, किनभने त्यहाँ ठूल्ठूलो गुरुजीहरुले पनि नर बहादुर राई भनेको सुनेको छैन, नेपाली खेलाडी यन. बी. ले जितेको भन्ने सैयौँ पटक सुनेको छु ।”अतिथिहरु जनजाति महासंघ अध्यक्ष भूपेन्द्र चेम्जोङ, कि. रा. या. सल्लाहकार राम ली राई आदिले शुभकानमा मन्तब्य दिएपछि औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष नरहाङ राईले -”अब, रामकृष्ण र नरबहादुर घेरा तोडेर संसार विजय गर्न निस्कनुभएको छ हामी सबै किराँत राईहरुले गर्व गर्नलायक काम गर्ने व्दय प्रतिभालाई हार्दिक शुभकामना भन्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

No comments: