News

May 28, 2009

साना दललाई १० सिट बराबर एक मन्त्री दिने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १४ सत्तारुढ नेकपा एमाले र कांग्रेस शुक्रबार मन्त्रालय बाँडफाँटको टुंगो लगाएर आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई दलका शीर्ष नेताहरुको भेटमा यस्तो सहमति भएको एमाले महासचिव ईश्वर पोखरेलले बताए।"शुक्रबारसम्म साझा कार्यक्रम र दलगत मन्त्रालय बाँडफाँटको निष्कर्ष निकालेर आइतबार मन्त्रिमण्डल विस्तार हुन्छ"- पोखरलेले संचारकर्मीसँग भने। दुई दलबीच ३५ को हाराहारीमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री बनाउने सहमति पनि भएको छ। "कुल मन्त्रीको संख्या ३५ भन्दा माथि नलैजाने सहमति भयो"- कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने।एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई काम गर्न सजिलो हुने गरेर केही महत्वपूर्ण मन्त्रालय एमालेलाई दिन कांग्रेस सहमत भएको पनि बताए।साना पार्टीलाई मन्त्रालय कसरी दिने भन्ने अन्यौलबारे भने दुई दल साना दलहरुको समूह बनाएर बाँडफाँट गर्न सहमत भएका छन् । "सरकारलाई समर्थन गरेका सबै दललाई संविधानसभामा उनीहरुको उपस्थितिका आधारमा मन्त्रिमण्डलमा स्थान दिन सहमति भएको छ", पौडेलले भने- "साना दलको समूह बनाउने र कम्तीमा १० सिट बराबर १ मन्त्री दिने सहमति भएको छ।"भेटमा कांग्रेस कार्यबाहक सभापति सुशील कोइराला, उपसभापति पौडेल र महामन्त्री विमलेन्द्र निधि सहभागी थिए । एमालेबाट भने प्रधानमन्त्री माधवकुमार नेपालसहित अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी ओली, महासचिव पोखरेल र सचिव शंकर पोखरेल सहभागी थिए।

No comments: