News

May 22, 2009

प्रचण्डले दल र सेनापतिको कडा शब्दमा आलोचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ८ कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई सम्वोधन गर्दै दल र सेनापतिको कडा शब्दमा आलोचना गरेका छन्। उनले लिखित भाषणमा दलहरुले सैनिक सर्वोच्चता अन्तगर्त सरकार गठन गर्न लागेको आक्षेप लगाए। दाहालले कटवालमाथि कारवाही गर्ने निर्णय सरकारमा सहभागी पाँच दलसँगको सहमतिमै गरेको दाबी गरे। 'स्वर्गबाट आकाशवणी आयो वा कतै रिमोट कन्ट्रोल भयो वा केही जादु भयो', दाहालले भने- 'सरकारका केही दलहरु १८० डिग्रीमा फेरिए।' दाहालले प्रधानसेनापति प्रकरणमा दलहरुको हैसियत कमजोर र लोकतन्त्रप्रति खोक्रो देखिएको आरोप लगाए। उने भने,'यसबाट नेपालको राष्ट्रियता र स्वाभिमानको विष्मयकारी रुपले कमजोर स्थितिको उजागर गरेको छ।'आफू सरकारमा गएपछि भारत र चीनसँग परिवर्तित परिस्थितिअनुसार सम्बन्ध सुधार गर्न खोजेको दाहालले दाबी गरे। उनले छिमेकीहरुसँगको पुरानो सम्बन्धमा परिवर्तनको आवश्कता औंल्याए। उनले भारतले 'ठूल्दाइ'को व्यवहार गर्दै आएको प्रति सजग गराए। सेनापति हटाउने आफ्नो निर्णयलाई भारतले समर्थन नगरेको संकेत गर्दै दाहालले भने- 'सेनापति प्रकरण, राष्ट्रपतिको कदम र नयाँ सरकार गठनको प्रक्रिया सबैका सन्दर्भमा नेपाली र भारतीय जनताका मनमा हामी अगाडि बढ्दैछौं वा पछाडि हट्दैछौं भन्ने प्रश्न गम्भीर रुपले उठेको देखिन्छ।'कमचलाउ प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन खोज्ने आफ्नो प्रयत्न परम्परागत शक्ति, शैली र मानसिकतासँग अन्तरविरोध बन्न गएको स्वीकार गरे। सत्ता कब्जासम्बन्धी भिडियो सार्वजनिक भएको विषयतर्फ संकेत गर्दै दाहालले भने, - 'जतिबेला सत्ता कब्जा गर्नुपर्ने स्थिति देख्ने छौं, भनेरै गर्नेछौं, लुकेर गर्ने छैनौं।' उनले षड्यन्त्रमूलक तरिकाले सत्ता कब्जा नगर्ने प्रस्टीकरण दिए।दाहालले नागरिक सर्वोच्चता र संवैधानिक राष्ट्रपतिको असंवैधानिक कदमविरुद्द सदन र संसदबाट प्रतिकार गरिरहने चेतावनी दिए।

No comments: