News

May 28, 2009

आदिवासी चलचित्र महोत्सव राजधानीमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेस्रो नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव बिहीबारदेखि राजधानीमा सुरु भएको छ । विभिन्न क्षेत्रमा योगदान दिएका नेपाली एवं विदेशी नागरिकले आदिवासी जनजातिसँग सम्बन्धित बाजा बजाएर महोत्सवको उद्घाटन गरेका थिए । समाजका विभिन्न क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल आदिवासी समुदायको पाँच विशिष्ट व्यक्तिलाई महोत्सवको उद्घाटन समारोहमा आयोजक संस्था आइफाका तर्फबाट विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेमा वनस्पति विशेषज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सूचना प्रविधि विशेषज्ञ महावीर पुन, लघु जलविद्युत्का प्रेरक वीरबहादुर घले, समाजसेवी महिला आजवानी चौधरी र छिङलामु शेर्पा रहेका छन् 'बिल्डिङ डिग्निटी' भन्ने नाराका साथ यसपालिको महोत्सव सुरु हुन लागेको जानकारी दिँदै फेस्टिबल निर्देशक सिर्जना सुब्बाले संविधान लेखनमा सहयोग मिलोस् भनेर विश्वका विभिन्न मुलुकमा संविधानसँग केन्दि्रत फिल्म प्रदर्शन गर्न लागेको धारणा राखिन् । बिहीबार विभिन्न मुलुकका तीनवटा डकुमेन्ट्री प्रदर्शन गरिएका थिए । बोलिभियाको संविधान निर्माण प्रक्रियामा बनेको डकुमेन्ट्री बिल्डिङ डिग्निटी प्रदर्शन गरिएको थियो । फेर्नान्डो कोला निर्देशित बिल्डिङ डिग्निटीमा संविधानसभाका लागि बोलिभियाका आदिवासीले गरेको आन्दोलन प्रस्तुत गरिएको थियो । नेपाली निर्देशक पि्रनाराज जोशीको 'ग्वे मरू' ले माटोको भाँडा बनाएर जीविकोपार्जन गर्नेहरूले झेल्नुपरेको दुःख प्रस्तुत गरेको थियो । प्रविधिको यो युगमा कुमाले पेसा अपनाउनेहरूले झेल्दै गरेका समस्या प्रस्तुत गरेका थिए निर्देशक पि्रनाले । लेप्चा भाषाको अर्को वृत्तचित्र 'लाप्चा' पनि बिहीबार नै प्रदर्शन गरियो । मोहन मानन्धरद्वारा निर्देशित २५ मिनेटको वृत्तचित्र लाप्चामा आफ्नो भाषा सांस्कृतिक संरक्षणमा लाप्चा समुदायमा आएको चेतनालाई निक्कै सशक्त रूपमा उजागर गरिएको छ । यो महोत्सवमा नेपाललगायत क्यानडा, अमेरिका, मेक्सिको, चिली, भोलिभिया, भेनेजुएला, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, फिनल्यान्ड, स्पेन, इन्डोनेसिया र भारतका आदिवासीको विषयमा निर्मित चलचित्र वृत्तचित्र, लघुचलचित्र, म्युजिक भिडियो र एनिमेटेड चलचित्र प्रदर्शन गरिने भएका छन् । त्यस्तै, नेपालका विभिन्न आदिवासी समुदायका १८ वटा चलचित्र, वृत्तचित्र एवं म्युजिक भिडियो प्रदर्शन हुँदै छन् । नेपालबाहिरका १३ देशका २२ वटा चलचित्र एवं वृत्तचित्र हेर्न पाइनेछ । यस वर्षदेखि पुरस्कारमा एकरूपता ल्याउन आदिवासीहरूको प्रतीकको रूपमा 'ढोल'लाई प्रयोग गरिएको छ । विभिन्न पाँच विधामा पुरस्कृत हुने चलचित्र एवं वृत्तचित्रलाई स्वर्ण, रजत र कास्य ढोल प्रदान गरिनेछ । त्यस्तै, दर्शक छनोट पुरस्कार र समीक्षक छनोट पुरस्कार पनि यस वर्ष प्रदान गरिनेछ । महोत्सवमा शुक्रबार राष्ट्रियसभा गृहमा सुजन लामाको तामाङ चलचित्र गोदेवा, निर्देशक जेनी थोर्नेलीको अस्ट्रेलियन वृत्तचित्र आइल्यान्ड होम कन्ट्री, पि्रतम गुरुङ निर्देशित गुरुङ भाषाको रोधी घर र साने वेल्र्कटद्वारा निर्देशित क्यानडाको वृत्तचित्र तकारन्तो प्रदर्शन गरिनेछन् । राटि्रय सभागृह प्रांगणमा बिहीबार ठूलै मेला लागेजस्तै देखिन्थ्यो । राइ, लिम्बू , गुरुङ, सुनुवारलगायतका जातजाति आ-आफ्ना बागागाजासहित सांस्कृतिक झाँकीसहित प्रस्तुत भएका थिए । 'यो त हामो महत्त्वपूर्ण उत्सव नै हो,' निर्देशक संजोग लाफा मगरले भने ।

No comments: