News

May 25, 2009

माधवकुमार नेपालले प्रधानमन्त्री पदको शपथग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ११ गते । राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपाललाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।सोही अवसरमा प्रधानमन्त्री नेपालले नवनियुक्त रक्षामन्त्री विद्यादेवी भण्डारी तथा अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।शपथग्रहण समारोहमा उपराष्ट्रपति परमान्द झा, संविधानसभाका अध्यक्ष तथा व्यवस्थापिका संसद्का सभाभुख सुवासचन्द्र नेम्वाड तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश मीनबहादुर रायमाझीलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।सो समारोहमा एकीकृत नेकपा (माओवादी)का नेता कृणबहादुर महरा, दीनानाथ शर्मा तथा नारायणकाजी श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार निर्माणप्रक्रियाप्रति असहमति जनाउँदै आएको एकीकृत माओवादीका नेता महराले नेपाललाई शपथग्रहणस्थलमा नै पुगेर बधाई दिनुभएको थियो भने नारायणकाजी श्रेष्ठ र शर्मा कार्यक्रमस्थलमा उपस्थित हुनुहुन्थ्यो ।नेपाली काङ्ग्रेसका नेता सुशील कोइराला, शेरबहादुर देउवा तथा कूटनीतिक नियोगका पदाधिकारीहरूको पनि शपथग्रहण समारोहमा उपस्थिति थियो । प्रधानमन्त्री नेपालले सत्ता साझेदार दलका समेत केही मन्त्रीलाई समावेश गरी आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेको भए पनि अन्य दलबाट नामावली प्राप्त नभएका कारण आˆनै दलका दुई सदस्यसहितको मन्त्रिमण्डल गठन गर्नुभएको हो ।विगतमा एकीकृत माओवादीका मन्त्रीले तोडेको दौरासुरुवाल लगाउने परम्परालाई पुनः जोड्दै प्रधानमन्त्री नेपालले सेतो दौरासुरुवाल, खैरो कोट लगाएर शपथ लिनुभएको थियो भने शपथमा 'ईश्वरका नाममा' लेखिएको शब्द उच्चारण नै नगरी शपथ लिनुभएको थियो । प्रधानमन्त्री नेपाललाई उहाँका पिता मङ्गलप्रसाद उपाध्यायले समेत शपथग्रहणस्थललमा नै बधाई दिनुभएको थियो ।यसैगरी नवनियुक्त रक्षामन्त्री विद्यादेवी भण्डारी हालै सम्पन्न नेकपा (एमाले )को महाधिवेशनबाट पार्टीको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म २०१८ सालमा भएको र उहाँले २०३६ सालमा पार्टी सदस्यता लिनुभई २०५४ सालमा केन्द्रीय कमिटीको सदस्य बन्नुभएको थियो । उहाँले साढे तीन महिना जेलजीवन व्यतीत गर्नुभएको थियो । त्यस्तै तीनपटक सांसद हुनुभएको थियो भने यसअघि एकपटक मन्त्री भइसक्नुभएको छ । उहाँको शिक्षा प्रवीणता प्रमाणपत्र तहसम्म रहेको छ । यस्तै नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेको जन्म २०१५ सालमा भएको थियो । उहाँले २०३७ सालमा पार्टी सदस्यता लिनुभएको थियो भने उहाँ २०४८ सालमा पार्टीको केन्द्रीय कमिटीमा छानिनुभएको थियो । उहाँले राजनीतिक जीवनमा चार महिना जेलजीवन बिताउनुभएको छ भने १० वर्षसम्म भूमिगत रहनुभएको थियो । यसअघि दुईपटक सांसद भइसक्नुभएका उहाँ नेकपा (एमाले)ले संसदीय दलको सचेतक तथा उपनेता भइसक्नुभएको छ । उहाँले समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

No comments: