News

May 19, 2009

नेपाली कांग्रेसले सातवटा प्रदेशको अवधारणा आधार प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले सातवटा प्रदेशको अवधारणासहित राज्यपुनर्संरचनाका आधार तयार पारेको छ । राज्यपुनर्संरचना समितिको सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीको तर्फबाट राज्यपुनर्संरचनाको आधारपत्र तयार पारेको हो । कांग्रेसले तयार पारेको आधारपत्रमा भूगोलको आधारमा उत्तर र दक्षिण फैलिएको ६ वटा प्रदेश छुट्याइएको छ । काठमाडांै उपत्यकाका तीन जिल्लाका साथै काभ्रे, सिन्धुपाल्चोक जिल्ला रहेको उत्तरतिर फैलिएको प्रदेश कांग्रेसले आफ्नो अवधारणापत्रमा उल्लेख गरेको छ । एक सय १८ पृष्ठ लामो अवधारणापत्रमा कांग्रेसले एक सय ५६ जनाको केन्द्रीय संसद् निर्माण गर्नुपर्ने उल्लेख गरेको छ । ती सबै सदस्य प्रत्यक्ष निर्वाचनबाट छनोट हुनुपर्ने उसको राय छ । कांग्रेसले सातवटा प्रदेशमा पाँच सय ८२ विधायिका सदस्य हुनुपर्ने उल्लेख गरेको छ । प्राकृतिक स्रोत-साधन, जनसंख्या, भूगोल, खाद्य उत्पादन, क्षेत्रफलजस्ता १७ वटा विषयलाई आर्थिक स्रोत र साधनको बाँडफाँडको आधार बनाएको छ । कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले भने प्रदेशहरूको निर्धारण उपयुक्त नभएको बताए । उनले भने, 'विभिन्न जातजाति र समुदायले आफ्नो पहिचाहनको खोजी गरिरहेको समयमा त्यसलाई व्यवस्था गरेर संघहरू निर्माण गर्न कठिन हुन्छ ।' उनले सबै जातजाति र समुदायलाई स्वीकार हुने प्रदेशहरू निर्माण हुनुपर्ने बताए । राज्यपुनर्संरचना समितिका संयोजक गोपालमान श्रेष्ठले कांग्रेस धेरै संघ निर्माण गर्ने पक्षमा नरहेको बताए । कांग्रेसको राज्यपुनर्संरचनाको अवधारणा एमालेसँग निकट रहेको उल्लेख गर्दै संघहरू निर्माण गर्दा सबैले लचकता अपनाउनुपर्नेमा उनले जोड दिए । श्रेष्ठले भने, 'कांग्रेसले आफ्नो अवधारणा तयार पारेको छ । तर, एकात्मकबाट संघमा जाने हो भने सबैले मेरो गोरुको बाह्रै टक्का भन्न छाड्नुपर्छ ।'समितिको तर्फबाट सदस्यसचिव विनोदकुमार भट्टराईले पेस गरेको एक सय १८ पृष्ठ लामो अवधारणापत्रमाथि आचार्यलगायतका केही सदस्यले असहमति व्यक्त गरेका थिए । बैठकमा सदस्यहरूले दिएको सुझावलाई समेत समेटेर समितिले सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा अवधारणापत्र बुझाएको छ । सो अवधारणालाई पार्टी केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरिएको पार्टी केन्द्रीय समितिले त्यसलाई अनुमोदन गरेपछि मात्र कांग्रेसको आधिकारिकपत्र बन्ने नेताहरूले बताए । उपसभापति श्रेष्ठको संयोजकत्वमा गठन भएको २५ सदस्यीय राज्य पुनर्संरचना समितिको सोमबार बसेको बैठकले पार्टीको अवधारणालाई अन्तिम रूप दिएको हो । सो बैठकमा केन्द्रीय सदस्यहरू गोविन्दराज जोशी, भीष्मराज आङ्दम्य, र्फमुला मन्सुर, दिलेन्द्रप्रसाद बोडु, नरहरि आचार्यका साथै केही कानुनविद् र सभासद्हरूको समेत उपस्थिति थियो ।

No comments: