News

May 19, 2009

सम्झौता अनुसार माओवादी लडाकुको प्रमाणिकरण गरेको प्रष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ५ - संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले सरकार र माओवादीबीच भएको हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौतामा आधारित रहेर माओवादी लडाकुको प्रमाणिकरण गरेको प्रष्ट पारेको छ ।एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको भिडियो टेप प्रकरणपछि अनमिनको लडाकु प्रमाणिकरणबारे बिभिन्न टिकाटिप्पणी भइरहदा मंगलबार अनमिनले जारी गरेको बिज्ञप्तिमा २०६३ साल मंसिर २० गते सरकार र माओवादीबीच भएको हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौताले निर्धारित गरेको दुई वटा शर्त भित्रै रहेर लडाकु प्रमाणिकरण गरेको प्रष्ट पारेको हो ।अनमिनले लडाकुको लागि हतियार बोकेकै हुनुपर्ने शर्तलाई सम्झौतामा कतै उल्लेख नगरिएको भन्दै २०६३ जेठ ११ गते अघि भर्ती भएका र २०४५ साल जेठ १२ गते अघि जन्मिएकालाई लडाकुको मापदण्ड पुगेको मानिने सम्झौतामा उल्लेख भएको जनाएको छ । माओवादी सेनामा आफू कार्यरत भएको देखाउन माओवादी सेनाको परिचयपत्र मात्र प्रस्तुत गर्न आवश्यक रहेको भन्दै अनमिनले आफ्नो कार्यक्षेत्र भित्र रहेर प्रमाणिकरण गरिएको बताएको छ ।दर्ता भएका माओवादी सेनाका लडाकुहरू सुरक्षा बलमा समायोजन गर्न योग्य छन् वा छैनन भनेर प्रमाणीकरण गर्न अनमिनलाई अनुरोध नगरिएको प्रष्ट पार्दै अनमिनले यो मुद्दा, माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन, र पुनस्र्थापना गर्ने अन्तरदलिय विशेष समितिको जिम्मामा रहेको बताएको छ ।संयुक्त राष्ट्रसंघले तयार पारेको प्रमाणीकरणको कार्यविधि तथा त्यसमा सोधिने प्रश्नका बारेमा संयुक्त अनुगमन संयोजन समितिमा छलफल गरेर पारित गरिएको स्मरण गर्दै अनमिनले राजनीतिक दलका प्रतिनिधिहरुलाई प्रमाणीकरण कार्यको अनुगमन समेत गराएको उल्लेख गरेको छ ।प्रमाणीकरणको क्रममा २ हजार ९ सय ७३ जना नाबालिगहरू पाइएका थिए भने पछि भर्ती गरिएका १ हजार ३५ जनालाई अनमिनले अयोग्य ठहर गरेको थियो । दर्ता भएका ८ हजार ६ सय ४० जना प्रमाणीकरणमा अनुपस्थित भएकाले स्वतः अयोग्य भएको ठहर गरिएको थियो । प्रमाणीकरण भएका माओवादी सेनाका सदस्यहरूको सङ्ख्या १९ हजार छ सय २ रहेको छ ।

No comments: