News

May 19, 2009

डेबिड बेकह्यामले ब्राउनसँग काँधमा काँध मिलाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विम्ब्ले/ सन् २०१८ को विश्वकप फुटबलको आयोजना इंग्ल्यान्डमा भित्र्याउन डेबिड बेकह्यामले प्रधानमन्त्री गोर्डन ब्राउनसँग काँधमा काँध मिलाउने भएका छन् । सोमबार मात्रै बेकह्यामले विश्वकप आयोजना इंग्ल्यान्डमा भित्र्याउन सके कहिल्यै नपाएको खुसी पाउनेसमेत बताए । 'खेल जीवनमा विश्वकप जित्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो, अब विश्वकप आयोजनामा भित्र्याउने चाहना छ, जसरी ओलम्पिक ल्याइयो, त्यसबाट ठूलो सम्मान पनि कमाइन्थ्यो,' बेकह्यामले भने । सन् २०१८ को आयोजनाका लागि इंग्ल्यान्डले प्रतिद्वन्द्वीका रूपमा अमेरिका, अस्ट्रेलिया, मेक्सिको, रुस, इन्डोनेसिया र जापानसँगै संयुक्त आयोजनाका लागि कम्मर कसेका पोर्चुगल, नेदरल्यान्ड र बेल्जियमलाई पाउनेछ । डिसेम्बर २०१० मा अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) ले आयोजकको चयन गर्नेछ । 'मैले विश्वका केही महान् खेलाडीसँग समेत खेलेको छु तथा सबैजना धैर्य गर्नुपर्ने कुरा गर्छन् तथा इंग्ल्यान्डको खेल र खेलाडीलाई अहिले त्यही आवश्यकता छ,' बेकह्याम भन्छन् । बेकह्यामले म्यानचेस्टर युनाइडेटबाट खेल्दा च्याम्पियन्स लिग तथा रियल म्याडि्रडबाट खेल्दा स्पेनिस लिगको उपाधि चुमेका थिए । हाल उनी लस इन्जल्स ग्यालेक्सीको लोनमा एसी मिलानका लागि खेल्छन् । सन् २०१२ को ओलम्पिक आयोजना लन्डन भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेका बेकह्याम अब इंग्ल्यान्डले विश्वकपको पनि आयोजना गर्ने वेला आइसकेको दाबी गर्छन् । 'हाम्रो मुलुक ठूला प्रतियोगिता गराउन सधैं तयार छ, कसैले अर्को आयोजना नै गर भने पनि गर्न सक्छौं, मलाई लाग्दैन हामीसँग जस्तो पूर्वाधार अरूसँग छ भन्न्ने,' उनको दाबी छ । उता प्रधानमन्त्री ब्राउनले आयोजना भित्र्याउन पाए त्यो दशक खेलकुदमय दशक हुने बताए । इंग्ल्यान्डमा हुने ओलम्पिकसँगै सन् २०१४ मा ग्लास्गोमा कमनवेल्थ खेलकुद हुँदै छ । यस्तै इंग्ल्यान्डले २०१५ को रग्बी विश्वकप तथा २०१९ को विश्वकप क्रिकेट आयोजना गर्ने दाबी पनि गर्दै आएको छ । 'हामीले सन् २०१८ मा विश्वकप फुटबल गराउन सक्यौं भने इतिहासमै त्यो सर्वाधिक महान् खेलकुदमय दशक हुनेछ, हामीले त्यस्तो दशक कहिल्यै देखेका थिएनौं,' ब्राउन भन्छन् । इंग्ल्यान्डले सन् १९६६ मा उपाधि जितेको विश्वकपपछि त्यसको अर्को आयोजना गर्ने मौका पाएको छैन । सन् २००६ मा आयोजनाको दाबी गरे पनि त्यसलाई जर्मनीले उछिट्याएको थियो ।

No comments: