News

May 23, 2009

नागरिक सर्वोच्चताको घाँटी रेटेर सरकार बनाउने प्रचण्डको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चताको घाँटी रेटेर सैनिक सर्वोच्चता कायम गर्ने गरी नयाँ सरकार बनाउने तयारी भइरहेको आरोप लगाएका छन । बहुमत जुटाउन सांसद किनबेचको विगतको पुनरावृत्ति गरेर बन्न गइरहेको नयाँ सरकार प्रतिगामी र आत्मसमर्पणवादी बन्ने शंका पनि उनले व्यक्त गरे ।'अहिले नागरिक सर्वोच्चताको गला रेटेर सैनिक सर्वोच्चताअन्तर्गत बहुमतको सरकार बनाउने जुन कसरत भइरहेको छ र बहुमत पुर्‍याउन हिजो राजतन्त्रकालकै किनबेचको जुन फोहोरी खेलको पुनरावृत्ति गरिएको छ, यसबाट नयाँ सरकार प्रतिगामी र आत्मसमर्पणवादी कठपुतली बन्ने त होइन भन्ने प्रश्न स्वाभिमानी नेपाली जनताको मनमा उब्जिसकेको छ,' शुक्रबार व्यवस्थापिका संसद्लाई प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै प्रचण्डले भने ।कटवाल प्रकरणमा असंवैधानिक र अलोकतान्त्रिक तरिका अपनाएर दलहरूले जननिर्वाचित सरकारलाई पाखा लगाउने काम गरेको आरोप पनि प्रधानमन्त्री प्रचण्डले लगाए । 'प्रतिक्रान्तिको योभन्दा नांगो रूप अरू के हुन सक्दछ ? यसभित्र माओवादीलाई होइन, जनताको संघीय गणतान्त्रिक शासनलाई घेरा हालेर सखाप पार्ने नियोजित षड्यन्त्रले काम गरिरहेको छ,' उनले भने ।सरकारले कारबाही गरेका सेनापतिलाई बहाल रहन राष्ट्रपति डा. रामवरण यादवले दिएको ठाडो निर्देशनले संविधानको मर्म र भावनालाई मिचेको प्रधानमन्त्री प्रचण्डले बताए । राष्ट्रपतिलाई त्यस्तो गर्न उस्काएर दलहरूले मुलुकलाई फेरि युद्धमा धकेलेको जिकिरसमेत उनले गरे । 'त्यसले (राष्ट्रपतिको कदमले) अन्तरिम संविधानको मर्म र भावनालाई ठाडै मिच्ने निरंकुश हुकुमी शासनको झझल्को मात्र दिएन अपीतु सिंगो शान्तिप्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई नै धरापमा पार्ने काम गर्‍यो । ज-जसले सम्माननीय राष्ट्रपतिलाई यसको निम्ति उक्साए या निर्देशित गरे उनीहरूको उद्देश्य, शान्ति र संविधान होइन, देशलाई अर्को युद्धमा धकेलेर बर्बाद पार्नु मात्र हो भन्ने कुरा बुझ्न धेरै मिहेनत गर्नुपर्छ जस्तो मलाई लाग्दैन,' प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।सेनापति कटवाललाई सरकारमा सहभागी सबै दलहरूको सहमतिमै कारबाही गरिएको दाबी प्रचण्डले गरे । सहमति जनाएका दलहरूले निर्णय भइसकेपछि 'सहमतिविना नै कारबाही गर्‍यो' भनेको सुन्दा आफू आश्चर्यमा परेको उनले बताए । 'स्वर्गबाट आकाशवाणी आयो वा कतैबाट रिमोट कन्ट्रोल भयो वा केही जादु भयो सरकारका केही दलहरू एक सय ८० डिग्रीमा फेरिए । कारबाहीसम्म पुग्दा जे भयो हामी सबैका अगाडि छ,' प्रधानमन्त्री प्रचण्डले सदनलाई सुनाए । कटवाल प्रकरणले राजनीतिक दलहरूमा स्वनिर्णयको हैसियत कस्तो छ भन्ने छर्लंग पारेको प्रधानमन्त्री प्रचण्डले बताए । 'यस परिघटनाले बडो निर्मम र मार्मिक रूपले प्रमाणित गरिदिएको छ कि हाम्रा राजनीतिक दल र तिनका नेताहरूको वैचारिक, नैतिक र स्वनिर्णयको हैसियत कति कमजोर, लोकतन्त्र र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता कति खोक्रो र कमजोर छ । यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको विष्मयकारी रूपले कमजोर स्थितिलाई उजागर गरेको छ,' उनले भने ।कटवालले सेनापतिभन्दा एउटा उग्र राजनीतिज्ञ र कूटनीतिज्ञको जस्तो व्यवहार प्रस्तुत गर्दै तथा एकपछि अर्को गरी सरकारका आदेशहरूको उल्लंघन गर्दै नागरिक सर्वोच्चतालाई चुनौती दिन थालेपछि उनलाई कारबाही गरिएको प्रचण्डले बताए ।

No comments: