News

May 22, 2009

कामुक टेनिस सुन्दरी मारिया सारापोभा फेरि कोर्टमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वार्सा/ कामुक छविले खेलाडीलाई चर्चाको एक शिखरमा त अवश्य पनि पुर्‍याउँछ, तर आफ्नो चर्चालाई निरन्तरता दिन भने मैदानमा ओर्लनु नै आवश्यक छ । यही कुरालाई बुझेर टेनिस सुन्दरी मारिया सारापोभा फेरि कोर्टमा फर्किएकी छिन् । झन्डै १० महिना कोर्टबाहिर बस्नु उनको रहरभन्दा पनि बाध्यता थियो । काँधको चोटले उनलाई त्यति लामो समयसम्म टेनिसकोर्टबाहिर मात्र राखेन, उनको चर्चालाई पनि मत्थर पारिदियो । चर्चा र खेलबाहिर राखेको चोटलाई उनले शल्यक्रिया गराएरै फालिन् । अहिले उनी स्वस्थ देखिएकी छिन् । पोल्यान्डको वार्सामा सञ्चालित वार्सा ओपनमा लगातार तीन खेल जित्दै उनी क्वार्टरफाइनसम्म पुगेकी छिन् । १० महिना कोर्टबाहिर रहँदासमेत उनले आफ्नो खेल कौशलमा कमी आउन नदिएको यसले पुष्टि गर्छ । अझै राम्रो खेलेर आफ्नो पुरानो स्थानमा फेरि कब्जा जमाउने विश्वास पनि उनीसँग छ । विगतमा विश्व नम्बर एक महिला टेनिस खेलाडी बनेको साखलाई ब्युँताउन उनले अझै मिहिनेत गर्नु पर्नेछ । यो कुराप्रति उनको पनि विमति छैन । तीनपटककी ग्रान्डस्लाम विजेताले वार्सा ओपनमा आफ्ना प्रतिद्वन्द्वीलाई हराउन त्यति धेरै मिहिनेत पनि गरिरहनुपरेको छैन । 'मैले राम्रो खेल खेलिरहेकी छु तथा जितका लागि आवश्यक मिहिनेत पनि गरिरहेकी छु,' आत्मविश्वासी देखिएकी सारापोभा भन्छिन्, 'तर पनि, मेरा खेलमा व्यापक सुधारको आवश्यकता छ ।' काँधको शल्यक्रिया गराएपछि सारापोभाले दुईवटा ग्रान्डस्लाममा खेल्नसमेत पाइनन् । तर, अहिले चोटले दुःख नदिएको खुलासा पनि उनी गर्छिन् । अहिले दायाँ काँधमा लगाउने दुइटा टेपले मात्र उनको चोटका वर्णन गर्छ अन्यथा उनी स्वस्थ छिन् । सारापोभाले अन्तिमपटक १० महिनाअघि नै डब्ल्युटिए टुरमा सहभागिता जनाएकी थिइन् । त्यो चोटले नै उनलाई नम्बर एकबाट १२६औँ स्थानमा झारेको हो ।

No comments: