News

May 28, 2009

अमेरिका तथा दक्षिण कोरियाले आफ्ना सैनिक सर्तक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाले दक्षिण कोरियासँगको युद्धविराम सम्झौता भंग गरेको घोषणापछि संयुक्त राज्य अमेरिका तथा दक्षिण कोरियाले आफ्ना सैनिक सर्तक अवस्थामा राखेका छन् । द्विपक्षीय सम्झौताका कारण दक्षिण कोरिया र उत्तर कोरियाबीच युद्ध आधा शताब्दीअघि टुंगिएको थियो । दक्षिण कोरियाली रक्षामन्त्रालयले उत्तर कोरियामाथि सैनिक गस्ती बढाउने घोषणा गरेको छ । उत्तर कोरियाली गतिविधिको निगरानीका लागि सेनाले हवाई तथा स्थल गस्ती बढाउने रक्षामन्त्रालयका प्रवक्ता बोनता जेले बताए । उत्तर कोरियाको पछिल्लो आणविक परीक्षण छिमेकी मुलुक दक्षिण कोरिया र जापानको टाउको दुखाइको विषय बनेको छ भने अमेरिकालगायत पश्चिमा देशले उत्तर कोरियाले आफ्नो आणविक परीक्षणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उता राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाको आणविक कार्यक्रमका कारण उत्पन्न पछिल्लो अवस्थाको मूल्यांकनका र उत्तर कोरियाले दिने जवाफबारे सदस्य मुलुकसँग विचारविमर्श गरिरहेको छ । आफूविरुद्ध दक्षिण कोरियाले अमेरिकालाई साथ दिएको तथा आफ्ना पनडुब्बी र जहाजमा आणविक हतियार खोज्ने अमेरिकी नेतृत्वको कारबाहीलाई उत्तर कोरियाले 'युद्धको घोषणा' भनेको छ । 'हामीमाथिको शत्रुतापूर्ण व्यवहार, हाम्रा पनडुब्बी र जहाजमा हुने खोजतलास र सामग्रीको जफतलाई हामीले स्वाधीनतामाथिको आक्रमणका रूपमा लिनेछौँ, यदि त्यस्तो अक्षम्य अपराध भएमा शक्तिशाली सैन्यकारबाही गर्नेछौँ,' अमेरिका र दक्षिण कोरियालाई चुनौती दिँदै उत्तर कोरियाले भनेको छ । यसैगरी, उत्तर कोरियाले परमाणु अस्त्र र क्षेप्यास्त्र परीक्षण गरेपछि बढेका सुरक्षा चिन्ताबीच अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले बुधबार जापान र दक्षिण कोरियाको प्रतिरक्षा प्रतिबद्धतालाई दृढतापूर्वक दोहोर्‍याएकी छिन् । 'संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया र जापानको प्रतिरक्षालाई सदैव प्राथमिकता दिने गरेको छ । यो हाम्रो पक्षबाट निभाउनुपर्ने दायित्व हो, जुन हामी धेरै गम्भीरतापूर्वक लिन्छौँ,' हिलारीले भनिन् । उस्काउने र मूठभेडमा उत्रने नियत देखाएकाले उत्तर कोरियाले त्यसको परिणाम भोग्नुपर्ने हिलारीले चेतावनी दिइन् । सबैखालका आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधि गर्न बन्देज लगाइएको राष्ट्रसंघ सुरक्षापरिषद्को प्रस्ताव उल्लंघन गर्ने बाटो उत्तर कोरियाले रोजेको उनको दाबी थियो ।

No comments: