News

May 26, 2009

मालपोत अधिकृतहरूलाई जिल्ला अदालतले जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सातौं पटकसम्म कागजात पठाउन पत्राचार गर्दा पनि अटेर गर्ने मालपोत अधिकृतहरूलाई काठमाडौं जिल्ला अदालतले जनही ५ सय रुपियाँ जरिवानाको फन्दामा पारेको छ। सो अदालतका स्रेस्तेदार गोपाल बास्तोलाका अनुसार सात पटकसम्म कागजात पठाउन पत्राचार गर्दा अटेर गरेपछि मालपोत अधिकृतहरूलाई जरिवानाको फन्दामा पारेको हो। कागजात पठाउन अटेर गर्ने मालपोत कार्यालय कलंकीका प्रमुख रघुनाथ अधिकारी छन्। यसै गरी मालपोत कार्यालय चावहिलका प्रमुख अमृत कर्माचार्य र डिल्लीबजारका प्रमुख प्रेम खापुङ पनि अदालतको आदेश अटेर गर्ने अधिकृतका रूपमा दरिएका छन्। दावा शेपा वादी र रामगोपाल कार्की प्रतिवादी भएको महत्त्वपूणॅबदरसम्बन्धी मुद्दामा सम्बन्धित कागजात पठाउन अदालतले आदेश दिँदा पनि मालपोत कार्यालय, कलंकीका प्रमुख अधिकारीले अटेर गरेका थिए। मोतीरत्न शाक्यविरुद्ध विश्वरत्न शाक्य भएको हक कायम मुद्दामा चावहिलका प्रमुख कर्माचार्यले जग्गाहरूको दर्ता से्रस्ता र प्रमाणित प्रतिलिपि पठाउन आनाकानी गरेका थिए। डिल्लीबजारका प्रमुखलाई पनि त्यस्तै स्रेस्ता र प्रतिलिपि पठाउन धेरै पटक पत्राचार गर्दा पनि अटेर गरेपछि ५ सय रुपियाँ जरिवाना गर्नुपरेको बताइएको छ। तीनै जना मालपोतका हाकिमलाई जरिवाना गर्ने न्यायाधीश टेकनारायण कुँवर हुनुहुन्छ। मुलुकी ऐन, २०२० को अदालती बन्दोबस्तको महलको २१९ नम्बरमा अटेर गर्ने सरकारी कार्यालयको प्रमुखलाई जरिवाना गर्न सक्ने प्रावधान छ। उहाँले भन्नुभयो- प्रधानन्यायाधीशले २ वर्षपुराना मुद्दा असोज महिनाभित्रमा छिनोफानो गर्न निर्देशन भएको छ। सरकारी पदाधिकारीले अदालतको आदेश अटेर गर्दै जाने हो भने त्यो निर्देशनबमोजिम काम पूरा नहुन सक्छ, त्यसैले अब यस्ता आदेश हुँदै जान्छन्।

No comments: