News

May 21, 2009

मधेसी जनअधिकार फोरम सरकारमा सहभागी हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ७ - एमाले नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएपछि मधेसी जनअधिकार फोरमले सरकारको साझा न्यूनतम कार्यक्रम र शक्ति बाँडफाँटको बिषयमा वार्ता गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । तर कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने बिषयमा अर्को केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने जानकारी दिइएको छ । राजधानीको कालिकास्थानमा बसेको फोरमको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा सहअध्यक्ष जेपी गुप्ता, बिजयकुमार गच्छदार , शरतसिंह भण्डारी र रामसहाय यादव सदस्य रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले सत्ता साझेदार दलहरुसँग शक्ति बाँडफाँट र साझा न्यूनतम कार्यक्रमबारे छलफल गर्नेछ ।बैठकपछि आयोजित पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादवले अर्को केन्द्रीय समितिको बैठकले मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम तय गर्ने जानकारी दिए । उनले मधेस आन्दोलनको मुद्धालाई कार्यान्वयन गराउन सक्ने तथा पार्टीको हित अनुकूल काम गर्नसक्नेलाई मन्त्रिमण्डलमा सहभागी गराइने बताए । जातीय र क्षेत्रीय सन्तुलनलाई ध्यान दिएर मन्त्रीमण्डलको नामावली तयार पारिने उनले बताए । फोरमले संसदको जारी गतिरोध चिन्ताको बिषय भएको भन्दै यसले नयाँ सरकार गठनमा अवरोध पुर्‍याएको ठहर गरेको छ । राष्ट्रपतिको कदम अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय सबैलाई मान्य हुनुपर्ने भन्दै संसद सुचारु गर्न माग गरेको छ । बैठकपछि फोरम संसदीय दलका नेता बिजय गच्छदारले संसदीय दलको सुझावलाई केन्द्रीय कमिटीले स्विकार गरेको बताए ।

No comments: