News

May 22, 2009

एचआइभी/एड्स संक्रमितलाई गाउँ नछाडे जबर्जस्ती निकाल्ने धम्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एचआइभी/एड्स संक्रमित भएपछि एकै घरमा बसेका ११ जनालाई स्थानीय बासिन्दाले गाउँ छाड्न दबाब दिएका छन् । उनीहरूले एक साताभित्र गाउँ नछाडे जबर्जस्ती निकाल्ने धम्कीसमेत दिएका छन् । कास्कीको लेखनाथ-९ सालडाँडामा बस्दै आएका संक्रमितलाई गाउँ छाड्ने दबाब आएको हो । स्थानीय डायमन्ड मोडेल स्कुलमा अन्यसँगै संक्रमित बालबालिका राखेर पढाउने वा नपढाउने भन्ने विवादले चर्का रूप लिएपछि गाउँलेले उनीहरूलाई अन्यत्र जान दबाब दिएका हुन् । स्थानीय इन्द्रप्रसाद तिवारीको घरमा आँकुरा एकल तथा संक्रमित महिला समूहअन्तर्गतका संक्रमितहरू दुई वर्षदेखि बसेका छन् । चार पुरुष, चार महिला र तीन केटाकेटी एउटै घरमा बस्छन् । उनीहरूमध्ये पाँच वर्षीय बालिका एलिसा नेपालीलाई एचआइभी संक्रमण छैन । घरसहितको ३० रोपनी जग्गाको मासिक दुई हजार भाडा तिरेर बसेका उनीहरू अर्घाखाँची र गोरखाका बासिन्दा हुन् । स्थानीयवासीले आफूहरूलाई सोधपुछ नै नगरी गैरसरकारी संस्थाले रोगीलाई गाउँमा ल्याएर राखेको भन्दै जसरी पनि हटाउने बताएका छन् । 'गाउँमा भेला गर्दै हिँडेका छन्, हटाउने होलान्,' छिमेकी पूर्णबहादुर बरालले भने, 'रोग नसर्ने भए किन आफ्नो गाउँमा बस्न सकेनन् त ? भन्दै हटाउने निर्णय गरेका छन् ।' 'तिनीहरूलाई हटाउने निर्णय भएको हो,' स्थानीय खानेपानी समितिका अध्यक्षसमेत रहेका लीलानाथ भण्डारीले भने, 'आफ्नो गाउँमै बस्न नसकेका संक्रमितलाई हामी किन राख्ने ?' गाउँमा राख्ने कुनै सहमति नभएको बताउने भण्डारीले संक्रमित बसेपछि विकास हुन्छ कि भनेर चुप लागेको पनि बताए । 'आउँदा बाटो बनाउने, खानेपानी ल्याउने भन्दै गाउँलेलाई आश्वासन दिएका थिए,' उनले थपे, 'यिनीहरूलाई राखेर गाउँ नै बर्बाद गर्न सकिँदैन भनेर विस्थापित गराउन खोजेका हौँ ।' संक्रमितलाई हटाउन सहमत नभएको भन्दै गाउँलेले घरमुली बराललाई समेत निको मानेका छैनन् । तर, उनीहरूलाई निकाल्ने पक्षमा बराल छैनन् । 'कुनै हालतमा हटाउनुपर्ने गाउँलेको निर्णय रहेछ,' उनले भने, 'अरूले निकाल्ने भने पनि म सहमत छैन, कसैको अधिकार हनन् गर्न पाइँदैन ।' छोराछोरीलाई पढ्नबाट वञ्चित गरिँदा दुःखी भएका संक्रमित अभिभावक गाउँ छाड्नुपर्ने धम्कीले झनै चिन्तित छन् । 'हिजो माया गर्नेले पनि आँखा तर्न थालेका छन्,' संक्रमित महिला पूर्णकला भुसाल भन्छिन्, 'एक साताभित्र गाउँ छाड्नुपर्ने भन्दै हिँडेका छन् ।' 'पहिला त गाउँलेले सहयोगै गर्थे,' अर्की संक्रमित विष्णुमाया नेपालीले भनिन्, 'बसेको वास छाड्नुपर्ने अपराध त गरेजस्तो लाग्दैन ।' गाउँलेको निर्णय गलत भएको पश्चिम क्षेत्रीय एचआइभी/एड्स सञ्जालका सचिव दिलीप गुरुङ बताउँछन् । 'कुनै हालतमा संक्रमितलाई हटाउन मिल्दैन,' उनी भन्छन्, 'रोग लाग्दैमा कसैलाई निकाल्न पाइँदैन ।' यता, अविभावकको चर्को दबाबपछि डायमन्ड स्कुलले दुई संक्रमितसँगै तीनै बालबालिकालाई विद्यालयमा नल्याउन भनेको छ । अभिभावकको चर्का दबाब खेपेको विद्यालयले संक्रमित भएको थाहा हुँदाहुँदै भर्ना गरे पनि दबाबपछि पढाउन नसक्ने जनाएको हो । 'दुईजनाको भविष्य भनेर पाँच सय विद्यार्थी गुमाउन सकिँदैन,' विद्यालयका पि्रन्सिपल सोमलाल तिवारीले भने, 'यदि यही आरोप लगाएर कसैले सजाय दिए भोग्न तयार छु ।' अभिभावकले रोग सर्छ भन्दै संक्रमित बालबालिकालाई निकाल्न दबाब दिएको तिवारीले बताए । 'बच्चालाई रोग सार्न विद्यालय पठाएका होइनौँ,' स्थानीय अभिभावक सचितानन्द कोइरालाले भने, 'विद्यालयले बालबालिकालाई एकै ठाउँमा राखेर पढाउँछ भने हाम्रा बच्चा पठाउँदैनौँ ।'

No comments: