News

May 18, 2009

श्रीलंकामा तमिल विद्रोहीले युद्धविरामको घोषणा गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलम्बो/ श्रीलंकाका पृथकतावादी तमिल विद्रोहीले आइतबार युद्धविरामको घोषणा गरेका छन् । अलग राज्यको माग गर्दै अन्तिम युद्ध लडिरहेका तमिल विद्रोहीसँग अन्तिम समयमा आधा किलोमिटर मात्र भूभाग नियन्त्रणमा थियो । २५ वर्षअगाडि अलग राज्यको माग गर्दै तमिल विद्रोहीले युद्ध सुरु गरेका थिए । सरकारका तर्फबाट ठूलो कारबाहीका कारण तमिल विद्रोहीले आफ्ना तर्फबाट युद्धविराम गर्ने निर्णय गरेको तमिल समर्थक वेबसाइट तमिलनेटले उल्लेख गरेको छ । आमतमिल नागरिकका हितमा युद्धविराम गर्ने निर्णय गरिएको पनि तमिलनेटले बताएको छ । तमिल विद्रोही र सरकारबीचको २५ वर्ष लामो युद्धमा ७० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । युद्ध सकिएको घोषणा गर्न राष्ट्रपति महिन्दा राजपाक्षेले मंगलबार संसद्मा पत्रकार-सम्मेलन गर्ने बताइएको छ । तमिल विद्रोहीका उच्च कमान्डरहरू कहाँ छन् भन्नेबारे स्पष्ट भएको छैन । प्रमुख नेता भेलुपिल्लाई प्रभाकरणको अवस्था पनि खुलेको छैन । सरकारी सेनाले आइतबार चारैतिरबाट घेरेपछि कयौँ विद्रोहीले आत्महत्या गरेको उच्च सैनिक अधिकारीले बताए । प्रभाकरण र अन्य उच्च कमान्डरको लास भेटिएको आशंका गरिए पनि त्यसको पुष्टि नभइसकेको नाम नबताउने सर्तमा उच्च सैनिक अधिकारीले बताए ।

No comments: