News

May 27, 2009

कोसीले ड्याम फुटेपछि सर्वसाधारणको बिचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, १३ जेठ कोसी नदीको पानी पुरानो धारमा फर्काउन बनाइएका तीनवटा कफरड्याम मंगलबार राति भत्किएका छन् । कफरड्याम फुटेपछि नदी राति १२ बजेदेखि पूर्वी तटबन्धनतर्फ हानिएको छ । कोसीले तटबन्धको उत्तरतर्फको भागमा बनाइएको स्परमा धक्का दिन थालेको छ । कोसीले धक्का हान्न थालेपछि कोसी ब्यारेजमा रहेका ५२ मध्ये ५० वटा ढोका खोलिएको छ । दुईवटा भने बिगि्रएका कारण खोल्न नसकिएको सुनसरीको प्रमुख जिल्ला अधिकारी हरेकृष्णप्रसाद उपाध्यायले बताए । कोसीले मधुवनमा रहेको कफरड्याम भत्काएपछि कोसी प्रभावित क्षेत्रका सर्वसाधारण आतंकित भएका छन् । कोसीले उत्तरी क्षेत्रबाट निर्माणाधीन तटबन्धमा कटान थालेपछि सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । तटबन्ध फुटाएर कोसी गाउँ पस्ने भयले सुनसरीको हरिपुर, श्रीपुर र पश्चिम कुसाहाका सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न थालेको सुनसरी प्रहरीले जनाएको छ । लामो समयसम्म विभिन्न शिविरमा बसेर भर्खरै घर फर्किएका सर्वसाधारण पुनः सुनसरीको लौकही, नहरचोकमा रहेको शिविरमा आउन थालेको प्रहरीले जनाएको छ । गत २ भदौमा कोसीले पूर्वी तटबन्ध भत्काएपछि विस्थापित भएका झन्डै ५० हजार सर्वसाधारणमध्ये आधाभन्दा बढी आफ्नै गाउँ फर्केका थिए । यसैबीच, अबिरल परेको बर्षाका कारण सुनसरीबाट पश्चिम जाने र पश्चिमबाट सुनसरी आउने सबै यातायात बन्द भएको छ । कोसीमा पानीका मात्रा बढेपछि सुनसरीको चतरामा बनाएको फेरि पनि मंगलबारदेखि अवरुद्ध भएपछि सुनसरीबाट पश्चिम चल्ने र सुनसरी आउने सवारीका साधन चल्न सकेका छैनन् । कोसीमा अत्यधिक पानीको मात्रा भएको भन्दै सोमबार साँझदेखि चतरामा बनाएको दुईवटै फेरी सञ्चालन बन्द गरिएको चतरा प्रहरीले जनाएको छ । यसअघि नै सुनसरीको पश्चिम कुसाहामा बनाएको डाइभर्सन भासिएपछि पूर्व-पश्चिम सडक खण्डको सुनसरीको लौकही-भन्टाबारी राजमार्गको यातायात अवरुद्ध भएको थियो । कफरड्याम भत्किएपछि स्थानीय प्रशासनले कोसी ब्यारेजमा समेत सवारीका साधन चल्न रोक लगाएको छ । यस्तै अबिरल वर्षाका कारण सुनसरीको भुटाहा- २ र ३ को बीचमा रहेको सुनसरी खोलामा बाँधेको मोरियाबाँध बुधबार बाढीले फुटाएको छ । खोलामा आएको बाढीले बिहान बाँध फुटाएपछि बाँध दक्षिणका बासिन्दा आतंकित बनेका छन् । बाँध फुटाएपछि खोला आसपासका सर्वसाधारण घर छाडी सुरक्षित स्थानतर्फ जान थालेको सुनसरी प्रहरीले जनाएको छ । बाँध फुटे पनि कुनै खतरा नभएकाले उनीहरूलाई फर्काउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, उनीहरू खोलाको बाँध त बाढीले फुटायो भने अब कोसी नदीमा आएको बाढीले पनि तटबन्ध भत्काई आफूहरूलाई बगाउने भन्दै फर्किन मानेका छैनन् । यसैबीच, सरकारी टोलीले बुधबार कोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । कफरड्याम भत्किएपछि हुन सक्ने क्षति कसरी रोक्न सकिन्छ, अध्ययन गर्न बुधबार गृहसचिव गोविन्द कुसुम र जलस्रोत सचिव शंकरप्रसाद कोइरालासहितको सरकारी टोलीले घटनास्थलको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक हरेकृष्ण उपाध्यायले बताए । राति तीनवटा कफरड्याम फुटेर पानी बहाव भारतीय पक्षले बनाउँदै गरेको पूर्वी तटबन्धको उत्तरतर्फको भाग कटान सुरु गरेपछि बिहान नवगठित तीन सदस्यीय मन्त्रिपरिषद्को दोस्रो बैंठकले कोसी तटबन्ध निरीक्षण गर्न तीन सदस्यीय उच्चस्तरीय टोली पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारी टोली निरीक्षणमा आएको हो । बर्षा कायम रहे पूर्वी तटबन्ध भत्किएर पुनः कोसीले खतरा ल्याउने ठहर गर्दै टोलीले पुनर्निर्माण भइरहेको पूर्वी तटबन्ध द्रूतगतिमा निर्माण गर्न भारत सरकारलाई आग्रह गर्ने निष्कर्ष पनि निकालेको प्रजिअ उपाध्यायले बताए । उनका अनुसार टोलीमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, भारतीय दूतावसाका प्रतिनिधि, बिहार सरकार जल संसाधन विभागका प्रतिनिधि, भारतीय तथा नेपाली इन्जिनियरलगायतको सहभागिता थियो ।

No comments: