News

May 24, 2009

मन्त्रालय बाँडफाँटको लागि सात सदस्यीय कमिटी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचित भइसकेपछि एमालेले मन्त्रालय बाँडफाँटलगायत बिषय टुङ्ग्याउन सात सदस्यीय कमिटी बनाएको छ । दलहरुबीच मन्त्रालय बिभाजन, सरकारको न्यूनतम राजनीतिक कार्यक्रम तथा सरकार संचालनका लागि दलहरुको राजनीतिक संयन्त्र निर्माणका लागि दलहरुसँग वार्ता गर्न एमालेले ७ सदस्यीय वार्ता कमिटी बनाएको छ । जेठ १० गते बिहान एमाले पार्टी केन्द्रीय कार्यालयमा भएको स्थायी कमिटीको बैठकले यस्तो कमिटी निर्माण गरेको हो । पार्टी अध्यक्ष झलनाथ खनाल संयोजक रहेको कमिटीमा केपी ओली, बिद्या भण्डारी, इश्वर पोखरेल, शंकर पोखरेल, रघुजि पन्त र सुरेन्द्र पाण्डे सदस्य रहेको एमाले सचिव शंकर पोखरेलले बताए ।पोखरेलका अनुसार, स्थायी कमिटीको बैठकले प्रधानमन्त्री निर्वाचित भएकोमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई हार्दिक वधाई ज्ञापन गर्दै नेपाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयत्न गर्ने पनि निर्णय गरेको छ । सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन, मन्त्रालय बाँडफाँट गर्न तथा सरकार संचालन गर्ने राजनीतिक संयन्त्र निर्माण गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेससँग पार्टीको छलफल हुनलागेको पनि पोखरेलले जानकारी दिए ।

No comments: