News

May 27, 2009

सफलताको कथा सुनाउँदै सगरमाथा महिला आरोही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिन्धुपाल्चोक/ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि चर्चामा रहेका महिला आरोही सफलताको कथा सुनाउँदै गाउँका स्कुले बालबालिकामाझ पुगेका छन् । हरेक सफलताको कथाले बालबालिकाको कलिलो मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने महिला आरोहीको धारणा छ । सफलतापछाडि लुकेको सुख, दुःख र आरोह, अवरोहका कथा बालबालिकाको धारणा परिवर्तनमा सहायकसिद्ध हुने बताउँछन् उनीहरू । 'त्यसैले यो अभियान लिएर गाउँ छिरेका हौँ,' प्रथम समावेशी महिला सगरमाथा आरोहण दल- २००८ की सदस्य माया गुरुङले भनिन् । राजधानीका विद्यार्थीलाई सफलताको कहानी सुनाएर गाउँ छिरेका आरोहीले सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका समेत ३१ विद्यालयका बालबालिकासँग आरोहण अनुभव साटिसकेका छन् । ठीक एक वर्षअघि १२ जेठ ०६५ मा दलका १० महिला सदस्यले सगरमाथाको सफल आरोहण गरेका थिए । दलमा दोलखाकी कुजन आचार्य, पेमाडिकी शेर्पा, महोत्तरीकी आशाकुमारी सिंह दनुवार, कैलालीकी उषा विष्ट, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा, माङरी शेर्पा, काठमाडौंकी सुस्मिता मास्के, चुनु श्रेष्ठ, ताप्लेजुङकी नवाङफुटी शेर्पा र नुवाकोटकी बुद्धमाया तामाङ संलग्न छन् । सिन्धुपाल्चोकको विभिन्न पाँच विद्यालयमा आरोहण अनुभव बाँडेर दलका सदस्य सोमबार राजधानी फर्किए । दलका सदस्य माया गुरुङ, कुजन आचार्य, पेमाडिकी शेर्पा र आशाकुमारी सिंहले ककलिङ हरिसिद्धि, बालशिक्षा, कृष्णरत्न गंगा, सेतीदेवी शारदा र शारदा माविमा पुगेर आरोहण अनुभव सुनाएका थिए । आरोही यही अभियान लिएर मध्यपश्चिम र सुदूरपश्चिमका विद्यालय जाने कार्यक्रम छ । 'विद्यार्थीले एकदमै नौलो अनुभव गरिरहेका छन्,' आफ्ना अनुभव सुन्न विद्यार्थी निकै अनुशासित हुने गरेको सुनाउँदै मायाले थपिन्, 'रुचिपूर्वक सहभागी हुन्छन्, बढीभन्दा बढी जिज्ञासा राख्छन् ।' आफूहरूले हिमाल चडेको भिडियो दृश्य पावरप्वाइन्टका माध्यमबाट हेर्दा र हिमाल चढ्दाका सामग्री प्रत्यक्ष देख्दा विद्यार्थी निकै रोमाञ्चित र उत्तेजित हुने आरोहीको अनुभव छ । 'आँट भए गाह्रो काम पनि सजिलै गर्न सकिन्छ भन्ने सन्देश दिनु हाम्रो अभियानको मुख्य लक्ष्य हो,' अर्की सदस्य कुजन आचार्यले भनिन् ।

No comments: