News

May 28, 2009

ड्राइभरको तलब खाए संसदीय समितिका सभापतिहरुले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ जेठ परिवार नियोजनका अस्थायी साधनको खर्च र सुत्केरी भत्ता खाएपछि सभासद्हरूले अब ड्राइभरको तलब पनि खान थालेका छन् । दुई-दुईजना ड्राइभर राखेको भनेर उनीहरूको नाममा तलब खानेमा संवैधानिक समितिका सभापति (वर्तमान प्रधानमन्त्री) माधवकुमार नेपालदेखि माओवादी र कांग्रेसका नेताहरू पनि छन् । संसद् र संविधानसभाका २३ समितिका सभापति र तीन दलका सचेतकलाई युएनडिपीले अत्याधुनिक गाडी र एकजना ड्राइभर दिएको छ । ती गाडीका ड्राइभरले आफ्नो तलब सिधै युएनडिपीबाट बुझ्दै आएका छन् । तर, यता संविधानसभा/संसद् सचिवालयले पनि हरेक सभापतिका लागि दुईजना ड्राइभरको सुविधा दिने गरेको छ । सभापतिहरूले छुट्टै ड्राइभर राखेका छैनन्, तर तिनका नाममा आठ हजार दुई सय ७० रुपैयाँका दरले दुईजनाको १६ हजार पाँच सय ४० रुपैयाँ बुझ्दै आएका छन् । सभापति र सचेतकहरूले आफ्नो तलब बुझ्दा दुईजना ड्राइभरको तलब पनि एकमुष्ठ बुझ्दै आएका छन् । तर, त्यसरी ड्राइभरले पैसा लिएको भए सचिवालयमा भर्पाइ बुझाउनुपर्ने नियम छ । तर, सबै सभापतिले संसद्को लेखा शाखाबाट ड्राइभरको तलब लिएका छन्, तर कसैले पनि भर्पाइ बुझाएका छैनन् । संसद् सचिवालयको आग्रहमा युएनडिपीले ३० वटा गाडी भाडामा लिएर ड्राइभरसहित दिएको थियो । सचिवालयका अनुसार ती ड्राइभरले 'ओभर टाइम' काम गरे युएनडिपीबाटै भत्ता पनि बुझ्छन् । संविधानसभाका १३ र संसद्का नौ समितिका सभापतिहरू तिनै गाडी चढ्छन् । त्यस्तै माओवादी सचेतक जयपुरी घर्ती, कांगे्रस सचेतक शोभाकर पराजुली र एमाले सचेतक थममाया थापा पनि यिनै गाडी चढ्छन् । सुरक्षा विशेष समितिका सभापति तथा सभामुख सुवास नेम्वाङ भने संसद् सचिवालयकै गाडी चढ्छन् । संवैधानिक समितिका तत्कालीन सभापति तथा वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालको गाडी युएनडिपीका ड्राइभरले चलाउँदै आएका थिए । तर, थप दुईवटा ड्राइभर राखेको भन्दै नेपालले उनीहरूको तलब बुझ्दै आएका छन्, तर भर्पाइ भने बुझाएका छैनन् । त्यस्तै, माओवादी सचेतक घर्ती, कांग्रेस सचेतक पराजुली, एमाले सचेतक थापाले पनि भर्पाइ नबुझाई ड्राइभरको तलब बुझ्दै आएका छन् । संविधानसभाको राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिका सभापति लोकेन्द्र विष्ट र संसद्को विधायन समिति सभापति यशोदा सुवेदीले सचिवालयबाट 'गाडी सुविधा लिन्न' भनेका थिए तर उनीहरूले पनि दुई ड्राइभरको तलब र मासिक इन्धन सुविधा लिँदै आएका छन् । तर, सुवेदीले ड्राइभर र इन्धनबापत अहिलेसम्म बुझेको रकम कट्टा गरिदिन सचिवालयमा भर्खरै निवेदन दिएकी छिन् । युएनडिपीले त्यतिखेर भाडामा दिएका गाडी 'रिप्लेस' गर्ने गरी संसद् सचिवालयकै स्वामित्व रहने गरी ३० वटा स्करपियो गाडी भर्खरै दिएको छ । संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार जेठ अन्तदेखि नै ती गाडी प्रयोगमा आउनेछन् । संसद्कै स्वामित्वको गाडी चढेपछि दोहोरो ड्राइभर राखेको भनेर सभापतिले पैसा लिने सम्भावना घट्नेछ ।

No comments: