News

May 22, 2009

माओवादी उम्मेद्वार अनिश्चित निर्वाचन नयाँ बानेश्वरमा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ८- नयाँ प्रधानमन्त्रीको निर्वाचन दिउँसो ३ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा हुँदैछ। तर चुनावमा एकीकृत नेकपा माओवादीले उम्मेद्वारी दिने-नदिने विषयमा शनिवार बिहानमात्र निर्णय गर्ने भएको छ। माओवादीको टोलीले शनिवार बिहान सभामुख सुवासचन्द्र नेम्वाङसँग भेट गरेपछि मात्र यसबारेमा निर्णय गर्ने भएको छ। माओवादीको निर्णय नआएकाले कतिपय विरोधी दलका नेताहरुमा कतै चुनाव नै बिथोलिने त हैन भनी संशयमा छन्। तर माओवादीका सचिवालय सदस्य गिरिराजमणि पोखरेल भन्छन्, 'प्रधानमन्त्री पदबाट राजीनामा दिने नैतिकवान पार्टीले प्रधानमन्त्रीको चुनावै विथोल्ने गरी सदन अवरुद्ध गर्दैन।'पोखरेलका अनुसार बिहानको भेटमा सभामुखसँग माओवादीका तर्फबाट प्रकिया अघि बढाइएको संकल्प प्रस्तावबारे पनि कुराकानी हुनेछ। त्यो भेटघाटका आधारमा निर्णय गर्ने उनले बताए। 'नागरिक सर्वोच्चताको प्रश्नमा यति ठूलो लडाइँ छ संकल्प प्रस्तावमाथि छलफल होस् भन्ने हाम्रो माग हो', पोखरेल भन्छन्- 'यदि सभामुखले सहमतिका आधारमा छलफलमा लैजाने हुनुभयो भने हाम्रोलागि उचित वातावरण बन्नेछ।'स्पष्ट रुपमा संख्या नपुग्ने देखेको माओवादीले उम्मेद्वारी दिने संभावना न्युन छ। तथापि गत वर्ष भएको संविधानसभा चुनावमा दुई क्षेत्रबाट पराजित उनी विरुद्ध उनैलाई पराजित गर्ने माओवादी सभासद् झक्कु सुवेदीलाई प्रधानमन्त्री पदमा उठाउने अनुमान धेरैको छ। चुनावमा उम्मेद्वारी नदिए प्रतिपक्षी दल नहुने पो हो कि भन्ने आशंका भने माओवादीले हटाइसकेको छ। यदि माधवकुमार नेपालको एक मात्र उम्मेद्वारी परेर निर्विरोध निर्वाचित हुने अवस्था आएमा पनि चुनाव परिणाम घोषणा हुनुअघि नै माओवादी नेताले सर्वसम्मति भएको हैन भनेर सभामुखले बोल्न दिने छन्।चुनाव बहिष्कार नै गरे पनि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गराएर माओवादीलाई सभामुखले प्रमुख प्रतिपक्षी दलको मान्यता दिने बताइसकेको संविधानसभाका एक उच्च अधिकारीले जानकारी दिए। सभामुखसँग संकल्प प्रस्तावका विषयमा कुरा नमिलेमा भने बहिष्कार पनि हुनसक्ने पोखरेलको संकेत छ तर उनले बिहानको सचिवालय बैठकले निर्णय गर्नुअघि यस विषयमा केही भन्न नसक्ने बताए।माओवादीले चुनाव बहिष्कार गरेमा प्रधानमन्त्री चुन्न कानूनी रुपमा केही असर नपर्ने एमाले पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवाली बताउँछन् । तर माओवादीले आत्मसमीक्षा गर्ने बेला भएकाले बदलाको भावना पाल्न नहुने उनको धारणा छ। उनी भन्छन् 'सहमतिको विकल्प नभएकाले राष्ट्रिय सरकार बनोस् भन्ने हाम्रो मान्यता हो।'नेपाली कांग्रेसका नेता नरहरि आचार्य माओवादीले उम्मेद्वारी दिने विश्वास व्यक्त गरे। उनले भने 'माओवादीबिनाको भोलिको गठबन्धन सरकारको यात्रा त्यति राम्रो र सहज हुनेछैन।'एमाले-कांग्रेस गठबन्धनका २२ दलका तर्फबाट एमालेनेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका रुपमा उम्मेद्वार घोषणा गरी बहुमत सदस्यको हस्ताक्षर सभामुख समक्ष बुझाइसकेको छ। संसद् सचिवालयले शनिवार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेद्वारको प्रस्ताव दर्ता गर्ने समय तोकेको छ। साढे १ बजे उम्मेद्वारको सूची प्रकाशन गर्ने र ३ बजे चुनाव हुनेछ।

No comments: