News

May 21, 2009

नाबालिका विवाह गर्ने एक दुलहालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफूभन्दा २४ वर्षकम उमेरकी नाबालिका विवाह गर्ने एक दुलहालाई बाँके प्रहरीले पक्राउ गरेको छ। रकमको प्रलोभनमा भइरहेको अनमेल विवाहमा प्रहरीले हस्तक्षेप गरी दुलहासहित उनका अभिभावकलाई पक्राउ गरेको हो। हस्तक्षेपका क्रममा जन्ती भागाभाग भएका थिए। मंगलबार मध्यरातमा वागेश्वरी मन्दिरमा भइरहेको विवाहलाई प्रहरीले हस्तक्षेप गरी नेपालगन्ज-१६, कोरियनपुरका ३५ वर्षीय गणेश वाल्मीकिलाई पक्राउ गरेको छ। उनले भारत नानपाराकी ११ वर्षीया बालिकासँग वागेश्वरी मन्दिरमा मध्यरातमा विवाह गर्दै थिए।प्रहरीले गणेशसँगै उनका बाबु र बालिकाका पितासमेतलाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको छ। मध्यरातमा विवाह हुँदै गर्दा बालिका चर्को स्वरले रोएपछि मन्दिरनजिकै गठित साथी संस्थाको टोल एकाइका सदस्यले थाहा पाई प्रहरीलाई खबर गरेका थिए। बालिकालाई उद्धार गरी साथी संस्थाको संरक्षण गृह (सेल्टर) मा राखिएको छ। २० हजार रूपियाँको प्रलोभनमा ११ वर्षीया छोरी २४ वर्षजेठो गणेशलाई जिम्मा लगाउने सोहन वाल्मीकिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको जनाएको छ। प्रहरीका अनुसार, उनले ५ सय रूपियाँ केटा पक्षसँग ‘बैना’ लिइसकेको स्वीकार गरेका छन्। विवाहपछि १९ हजार ५ सय भुक्तान गर्ने सहमतिमा बालिकालाई नेपाल ल्याइएको हो। प्रहरीले दुलहा गणेश, उनका बाबु सलिम वाल्मीकि र बालिकाका पिता सोहनलाई बाल विवाहविरुद्धको मुद्दा चलाउन जिल्ला अदालत बाँकेबाट बुधबार नै म्याद थप गराएको जनाएको छ। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिङ्मार लामाले मध्यरातमा वागेश्वरी मन्दिरमा अनमेल विवाह भइरहेको सूचना पाएपछि प्रहरी टोलीले हस्तक्षेप गरेको जानकारी दिनुभयो। उहाँले दाइजो तथा आर्थिक प्रलोभनमा त्यसखालका विवाह हुने गरेको बताउनुभयो।

No comments: