News

May 18, 2009

माधव नेपाल नै प्रधानमन्त्री बन्ने पक्का भयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले-कांग्रेसलगायत २२ दलका तीन सय ५० सभासद्को समर्थनसहितको हस्ताक्षर जुटाएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने पक्का भएको छ । नयाँ प्रधानमन्त्रीको चुनाव बुधबार हुने सम्भावना छ । माओवादी र नेकपा एकीकृतबाहेकका दलले नेपालको नेतृत्वमा सरकार गठनका लागि सहमति जनाएका छन् । कांग्रेस, एमाले, फोरम, तमलोपा, सद्भावना र नेकपा मालेसहित १९ दलका सभासद्ले नेपालको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षरसहित समर्थन दिएका छन् । त्यस्तै नेमकिपा, राप्रपा नेपाल र नेपाली जनता दलले चुनावी प्रक्रियामा साथ दिने बताएको एमाले संसदीय दलका प्रमुख सचेतक भीम आचार्यले बताएका छन् । आचार्यका अनुसार माओवादीका दुई सय ३८, नेमकिपाका पाँच, एकीकृतका दुई, राप्रपा नेपालका चार र नेपाली जनता दल एकबाहेक अन्यको हस्ताक्षर बुझाइएको छ । हस्ताक्षर बुझेपछि सभामुख नेम्वाङले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर निर्वाचन प्रक्रिया अघि बढाउने बताएका छन् । विगतको अभ्यासका आधारमा निर्वाचन प्रक्रिया र मिति तोकिने पनि नेम्वाङले जानकारी गराएका थिए । संसद्को कार्यव्यवस्था परामर्श समितिको सोमबार बस्ने बैठकले संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने र बुधबारसम्म नयाँ प्रधानमन्त्री नियुक्त हुने एमाले सचेतक भीम आचार्यले बताएका छन् ।आइतबार बिहानसम्म माओवादी समर्थनमा आफैं सरकारको नेतृत्व गर्ने कि एमाले नेतृत्वको सरकारमा सामेल हुने भन्नेमा अनिर्णीत फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारले आफ्ना ३२ जना सभासद्को हस्ताक्षर बुझाएका थिए । गच्छदारले एकलौटी रूपमा बहुमत सभासद्को हस्ताक्षर बुझाएपछि पार्टी सहअध्यक्ष जयप्रकाश गुप्ता सिंगो पार्टीको समर्थन रहेको जानकारी लिएर सभामुखको चेम्बरमा पुगेका थिए । 'पहिले फोरमका ३२ सभासद्को मात्र हस्ताक्षर आएको थियो, पछि सभामुखलाई बुझाउने वेला पार्टीकै समर्थनको सूचना दिइएको हो,' एमाले प्रमुख सचेतक आचार्यले भने । फोरमसहितको मधेसी मोर्चाले तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारसँग भएका सहमति कार्यान्वयन गर्न स्पष्ट प्रतिबद्धता भए मात्र एमालेलाई समर्थन गर्ने सर्त गत बुधबार राखेको थियो । तर, थप प्रतिबद्धताविना नै आइतबार नै फोरमले एमाले-कांग्रेस गठबन्धनलाई सहयोग गरेको छ । यसबीचमा सद्भावना र तमलोपा गठबन्धनमा सहभागी भइसकेका थिए । 'संविधानसभाले गर्नुपर्ने कुरा संविधानसभालाई पठाउने र सरकारले गर्न सक्ने कुरा सरकारले कार्यान्वयन गर्ने पुरानै प्रतिबद्धतामा उहाँहरू सहमत हुनुभयो,' एमाले प्रमुख सचेतक आचार्यले भने । सरकार समीकरणका दलहरूले सरकारका न्यूनतम कार्यक्रम र मन्त्रालय बाँडफाँडका विषयमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढेपछि छलफल गर्ने बताएका छन् । 'प्रधानमन्त्री निर्वाचन प्रक्रिया अगाडि बढोस् अनि कार्यक्रम र जिम्मेवारीबारे छलफल गर्छौं,' एमाले नेता रघुजी पन्तले बताए । गृह, अर्थ र रक्षा मन्त्रालय कांग्रेस, एमाले र फोरम प्रमुख तीन दलले बाँडेर लिन सक्ने स्रोतले बताएको छ । तर, फोरमभित्र सरकारमा जाने वा नजाने विषयमा विवाद छ । एमालेले भने नयाँ सरकारमा विद्यादेवी भण्डारी, शंकर पोखरेल, विष्णु पौडेल वा प्रदीप ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डे, भानुभक्त जैसी वा तुलाराज विष्ट र जितु गौतमलाई पठाउने सम्भावना रहेको स्रोतले बताएको छ ।

No comments: