News

May 19, 2009

युरोपेली संघले म्यान्मारविरुद्ध थप नाकाबन्दी लगाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रसेल्स/ युरोपेली संघका विदेश नीति प्रमुख ह्याभियर सोलानाले सोमबार म्यान्मारविरुद्ध थप नाकाबन्दी लगाउनुपर्ने बताएका छन् । म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सरकारले गिरफ्तार गरेर जेल चलान गरेपछि युरोपेली संघले यस्तो प्रतिक्रिया दिएको हो । नजरबन्दमा रहेकी सुकीको निवासमा एक ५३ वर्षीय अमेरिकी घुसेपछि उनीविरुद्ध नजरबन्द उल्लंघन गरेको आरोप सरकारले लगाएको छ । उनीविरुद्ध थप सजाय तोकिने अनुमान गरिएको छ । युरोपेली संघका विदेशमन्त्रीहरूको एकदिने बैठकमा बस्नुअघि सोलानाले भने, 'यो नाकाबन्दी घटाउने वेला होइन, बरु अझ बढाउने वेला हो ।' युरोपेली संघको अध्यक्षता ग्रहण गरिरहेका चेक विदेशमन्त्री जाँ कोहोटले पनि नाकाबन्दीलाइ अझै बढाउन आफूहरू छलफल गर्न तयार रहेको जानकारी दिए । आपनो निवासमा एक अमेरिकीलाई आश्रय दिएको आरोपमा सोमबार सुकीविरुद्धको सुनुवाइ हुने इन्सेन जेल परिसरलाई काँडेतार राखेर दंगा प्रहरीले घेरा हालेका छन् । सुकीको रिहाइ नभएसम्म जेल अघिल्तिर शान्तिपूर्ण प्रदर्शनको आह्वान गरिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । एक सयभन्दा बढी सुकी समर्थक तगारा पार गरी जान सफल भएका छन् । सरकारी अधिकारीले सुनुवाइ बिहान १०:३० बजे सुरु भएको बताएका छन् । तर, अन्य विवरण बाहिर ल्याएका छैनन् ।

No comments: