News

May 25, 2009

प्रधानसेनापति हटाउने पूर्ववर्ती सरकारको निर्णय फिर्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १० - माधवकुमार नेपाल निर्विरोध प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने पूर्ववर्ती सरकारको निर्णय फिर्ता हुने एमाले र कांग्रेस गठबन्धनका नेताले बताएका छन् ।'सेनापति हटाउने पुरानो निर्णय रद्द गरिनेछ,' कांग्रेस नेता रामशरण महतले शनिबार कान्तिपुरसँग भने, 'निर्णय असंवैधानिक र सहमतिविरुद्ध गरिएकाले रद्द गरिने भएको हो ।' महत कांग्रेसतर्फबाट माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन तथा पुनःस्थापना विशेष समितिका सदस्यसमेत हुन् । विशेष समितिले भने निरन्तरता पाउने उनले बताए । विशेष समितिले प्राविधिक समितिको समेत गठन गरेर माओवादी सेनाको भविष्य सम्बन्धमा खाका बनाइरहेको छ । 'व्यक्तिहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्ला तर विशेष समिति रहन्छ,' उनले भने । एमाले नेताहरूले यस विषयमा औपचारिक प्रतिक्रिया नदिए पनि सरकारले पूर्णता पाएपछि सेनापति हटाउने निर्णय फिर्ता लिइने बताएका छन् । 'सेनापति हटाउने निर्णय फिर्ता हुन्छ,' एमालेका एक वरिष्ठ नेताले भने, 'तर पार्टीभित्रै यस विषयमा विवाद रहेकाले अहिल्यै औपचारिक रूपमा भन्न मिल्दैन ।' सेनापति कटवाललाई स्पष्टीकरण सोध्न एमाले अध्यक्ष झलनाथ खनाल र निवर्तमान उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति दिएका थिए । गौतमले अझै कटवाललाई हटाउने निर्णय ठीक रहेको बताउँदै आएका छन् । माओवादी नेतृत्वको सरकारले सत्तारूढ तथा विपक्षीको असहमतिका बाबजुद सेनापति कटवाललाई हटाउने निर्णय गरेपछि अल्पमतमा परेको थियो । गत वैशाख २० गते पूर्ववर्ती सरकारले सेनापति कटवाललाई हटाएर नेपाली सेनाका दोस्रो वरीयताका रथी कुलबहादुर खडकालाई कायममुकायम सेनापतिमा नियुक्तिको निर्णय गरेको थियो । तर राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सेनापति कटवाललाई तत्कालका लागि यथास्थानमा काम गर्न निर्देशन दिएका थिए । राष्ट्रपतिको निर्देशनलाई माओवादी नेतृत्वको सरकारले असंवैधानिक बताउँदै सच्याउन आग्रह गरेको थियो ।

No comments: