News

May 24, 2009

प्रहरी अश्लील नाँच हेर्न डान्स रेस्टुराँमा छिर्ने गर्छन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १० गते । महानगरवासीको सुरक्षाका लागि खट्ने प्रहरी अधिकारीहरू ड्युटी सकेपछि कहाँ जान्छन् होला ? जोसुकैले पनि सहजै अनुमान लगाउन सक्छन्, आराम गर्न तर त्यो सर्वसाधारणको भ्रम मात्र हो ।ड्युटी सकेपछि बर्दी फुकाल्नेबित्तिकै कतिपय महानगरका प्रहरी अश्लील नाँच हेर्न डान्स रेस्टुराँमा छिर्ने गरेका पाइन्छन् । कोही त कसैले नदेख्ने गरी रेस्टुराँको कुनामा गएर बस्छन् भने कोही मालिक बसेजस्तो गरी 'बार'को अगाडि नै कुर्सी राखेर मज्जा लिँदारहेछन् । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार ड्युटी सकेपछि आराम गर्नुको साटो साँझ पर्नेबित्तिकै अश्लील नाँच हेर्न जानेहरूमा प्रहरी जवानदेखि निरीक्षकसम्मका अधिकारी रहेका छन् । उनीहरू नाँच हेर्न र मोजमस्ती गर्न डान्समा जाने गरेको आरोप परिसरले लगाएको छ । केही दिनअघि ठमेलको सात घुम्तीस्थित बेलिज बार डान्समा अश्लील नाँच हेरिरहेको अवस्थामा पक्राउ परेका एक प्रहरी सहायक निरीक्षक र एक जवान ड्युटी सकेर रमाइलो गर्न रेस्टुराँमा पसेको प्रहरीले बताएको छ । सोह्रखुट्टे प्रभागमा कार्यरत ती दुई प्रहरी अश्लील नाँच हेरिरहेको अवस्थामा भेटिएका थिए । परिसरका प्रमुख नवराज सिलवालले भन्नुभयो- जवानदेखि प्रहरी नायब निरीक्षक -सई)सम्मका आठ-नौ जनालाई कारबाही नै भएको छ । अश्लील नाँच हेर्न डान्स रेस्टुराँ गएको अभियोगमा कारबाही गरिएका सबै प्रहरी डान्समा छापा मार्नेक्रममा पक्राउ परेका हुन् । कारबाही हुनेमा सई दुई जना, असई तीन जना, अन्य हवल्दार र जवान रहेका छन् ।
पक्राउ पर्ने प्रहरीमा पाँच जना सोह्रखुट्टेका छन् भने अन्य सिंहदरबार, बालाजु र कमलपोखरीको रहेका छन् । उनीहरूले डान्समा गएर अश्लील नाँच नचाउन उक्साउनुका साथै रेस्टुराँ ढिलोसम्म खोल्न लगाउने गरेको सोह्रखुट्टेका प्रहरी निरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । डान्स रेस्टुराँ सञ्चालन गर्न पाउने निर्धारित समय राति ११ बजेसम्म हो तर प्रहरी नै डान्स रेस्टुराँमा गएर मोजमस्ती गरिदिँदा सञ्चालकले अटेर गरी ढिलोसम्म चलाउने गरेको उहाँले बताउनुभयो । अश्लील डान्स हेर्न जानु प्रहरी सङ्गठनलाई बदनाम गर्नु मात्र होइन, रेस्टुराँ सञ्चालकलाई नकारात्मक क्रियाकलाप गर्न उक्साउनु पनि हो- उहाँले थप्नुभयो ।
उहाँले राति डान्स हेर्न जाने र आर्थिक लोभमा परेर ढिलोसम्म रेस्टुरँा खोल्न लगाउने अधिकृत र जवान गरी पाँच जनालाई कारबाहीका लागि परिसरमा पठाइएको जानकारी दिनुभयो । प्रहरीले पैसा खाएको गुनासो आफूकहाँ बारम्बार आउने गरेको गुनासो पनि उहाँले गर्नुभयो । त्यस्तै, बालाजु रानीवन क्षेत्रमा सञ्चालित क्याबिन रिसोर्ट क्षेत्रमा पनि सोही क्षेत्रका प्रहरी मोजमस्ती गर्न जाने गरेको बताइएको छ । कतिपयले त रेस्टुराँ व्यवसायीका लागि जासुसीको कामसमेत गर्ने गरेको बताइएको छ ।
बालाजु वृत्तका एक अधिकृत भन्छन्- रिसोर्ट सञ्चालकलाई प्रहरी छापा मार्न आउँदै छ भन्ने कुराको सूचना अगाडि नै पुगिसकेको हुन्छ । प्रहरीका अनुसार राजधानीमा हुने कतिपय अश्लील क्रियाकलाप प्रहरीकै संरक्षणमा हुने गरेकोसमेत पत्ता लागेको छ । कतिपय डान्स, मसाज तथा क्याबिनमा अझै पनि अश्लीलता प्रदर्शन हुने गरेको स्वीकार्दै परिसर प्रमुख सिलवालले भन्नुभयो, विगतको तुलनामा भने धेरै कुरा नियन्त्रण भएको छ ।

No comments: