News

May 23, 2009

नेता माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा निर्विरोध निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १० - एमाले वरिष्ठ नेता नेता माधवकुमार नेपाल लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री भएका छन् । संसदको हैसियतमा बसेको संविधानसभा बैठकले शनिबार उनलाई प्रधानमन्त्रीका रूपमा निर्विरोध निर्वाचित गरेको हो । संसद सचिवालयले नेपाल प्रधानमन्त्रीमा निर्वाचित भएको जानकारी शनिबारै राष्ट्रपति कार्यालयलाई दिएको छ । उनले मंगलबार अपराह्न ३ बजे शपथ लिनेछन् । ५६ वर्षीय नेपाल चार दशकदेखि वाम लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन् । एमालेका तर्फबाट प्रधानमन्त्री हुनेमा उनी दोस्रो नेता हुन् । कम्युनिस्ट प्रधानमन्त्रीका क्रममा भने उनी तेस्रो हुन् । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी २०५१ मा पहिलो कम्युनिस्ट सरकारका प्रधानमन्त्री थिए । नेपाल ०४६ को परिवर्तनपछिका १६ औं प्रधानमन्त्री हुन् । प्रधानमन्त्री भएलगत्तै नेपालले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने राष्ट्रिय सहमतिको प्रयास गर्ने बताए । 'यो महत्त्वपूर्ण जिम्मेवारी हो,' सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'सहमतिको माध्यमबाट यो लक्ष्य पूरा गर्नेछु ।' सानो आकारमै भए पनि मन्त्रिपरिषद गठनसहित शपथ लिने गृहकार्य भएको एमाले स्रोतले जनाएको छ । मन्त्रिपरिषद् गठन गृहकार्यका लागि आइतबार एमाले स्थायी कमिटीको बैठक बस्दैछ । आइतबारै प्रधानमन्त्री नेपालले कांग्रेससहितका गठबन्धन दलका शीर्ष नेताहरूसँग परामर्श गर्नेछन् । उनले साना दलहरूसँग समेत परामर्श गर्ने तयारी गरेका छन् । सदनमा नेपाललाई प्रधानमन्त्री चयन गर्न कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले राखेको प्रस्तावमा २२ दलले समर्थन जनाएका थिए । प्रधानमन्त्री चयन प्रक्रियामा माओवादी भने सहभागी भएन । 'राष्ट्रपतिको असंवैधानिक कदम' नसच्चिएसम्म सरकार गठनको प्रक्रियामा सहभागी नहुने उल्लेख गर्दै माओवादीले प्रधानमन्त्री चयनका बेला सदन बहिष्कार गरेको थियो । जनता दलका दुई सभासदमध्ये एकले समर्थन र अर्कोले बहिष्कार गरेका थिए । नेकपा एकीकृतका दुई सभासद पनि निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललगायत वरिष्ठ माओवादी नेता भने सदनमा उपस्थित थिएनन् । गठबन्धन दलका नेताहरूले भने संयुक्त सरकारमा सहभागी हुन माओवादीसमेतलाई आह्वान गरे । कांग्रेस सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफूसँग सहभागी हुन माओवादी शीर्ष नेतृत्वलाई आग्रह गरे । माओवादीले भने संविधान निर्माणका लागि सहमतिको बाटो खोज्ने तर सरकारलाई सहयोग र समर्थन नगर्ने बतायो । माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले सदन बहिष्कार नभई प्रधानमन्त्री चयन प्रक्रिया बहिष्कार गरेको बताए । प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गर्ने दाहाल सरकारको निर्णय कार्यान्वयन गर्न रोक्ने राष्ट्रपतिको कदम सच्याउन माग गर्दै माओवादीले लगातार सदन अवरुद्ध गरेको थियो । उसले राष्ट्रपति कदमविरुद्ध सदनमा संकल्प प्रस्ताव दर्ता सूचनासमेत दिएको छ ।राष्ट्रपतिले तोकेको समयभित्र संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा सरकार गठन गर्न पार्टीहरूबीच समझदारी नभएपछि सदनको बहुमतले प्रधानमन्त्री चयन गरेको हो । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा गरेको तीन सातापछि मात्र सदनले नयाँ प्रधानमन्त्री पायो ।

No comments: