News

May 23, 2009

पूर्व दक्षिणकोरियाली राष्ट्रपति रो मू ह्युनले आत्महत्या गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ पूर्व दक्षिणकोरियाली राष्ट्रपति रो मू ह्युनले आत्महत्या गरेको प्रहरीले शनिबार जनाएको छ । आफू मुछिएको घुसकाण्डसम्बन्धी मुद्दामाथि छानबिन सुरु भएको वेला पूर्वराष्ट्रपति रोले आत्महत्या गरेका हुन् । दक्षिणकोरियास्थित आपनै निवासबाट दक्षिण-पूर्वी क्षेत्रनजिकको एक पहाडी टुप्पोबाट हामफालेर रोले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुअघि उनले एउटा सानो आत्महत्यासम्बन्धी चिठी लेखेर छाडेको निकट सहयोगी एवं कानुन व्यवसायी मुन जाय इनले बताए । स्थानीय समयअनुसार बिहान ५:४५ बजे घरबाट बोङगवा पहाड चढेका रो बिहान ६:४० बजे पहाडको टुप्पोबाट हामफालेको उनका कार्यकालमा राष्ट्रपतिको कार्यालयका प्रमुख रहेका मुनले जानकारी दिए । पहाडबाट खसेपछि उनलाई अस्पताल लगिएको थियो । बिहान ९:३० बजे बुसान युनिभर्सिटी अस्पतालमा ६२ वर्षीय रोको मृत्यु भयो । राष्ट्रपति ली म्युङ बाकले रोको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यसअघि सरकारी वकिलहरूले घुस लिएको आशंकामा उनीसँग सोधपुछ गरेका थिए । त्यस्तै, राष्ट्रपतिकी श्रीमती, छोरा र विश्वासपात्रसमेतको संलग्नता रहेको अर्को एक भ्रष्टाचारको मुद्दामा पनि पूर्वराष्ट्रपतिसँग सोधपुछ गरिएको थियो । सन् २००३ देखि २००८ सम्म दक्षिणकोरियाको राष्ट्रपति रहँदा रोले आफ्नो परिवारमार्फत एक स्थानीय व्यापारीबाट लाखौँ डलर घुस लिएको आशंका गरिएको छ । जापानी प्रधानमन्त्री तारो आसोले पूर्व दक्षिणकोरियाली राष्ट्रपति -रो मुन ह्युनको निधनप्रति गहिरो शोक प्रकट गरेका छन् । जापान-प्रशान्त द्वीप मञ्चको शिखर बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आसोले उनको निधनबाट आफू आश्चर्यचकित भएको बताए ।

No comments: