News

May 20, 2011

माओवादीद्वारा सेनाको प्रस्ताव स्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ६ - नेपाली सेनाले आफ्नो मातहतमा छुट्टै महानिर्देशनालय हुने गरी लडाकु समायोजन गर्न अघि सारेको प्रस्ताव उपयुक्त भएको माओवादीले बिहीबार ठहर गरेको छ । पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षले भने त्यसमा फरक मत (नोट अफ डिसेन्ट) राखेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार करिब ६ घन्टा भएको स्थायी समिति बैठकले शान्ति र संविधान निर्माणमा 'जिम्मेवारीपूर्वक' अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाको प्रस्ताव उपयुक्त ठानेको हो । बैठकपछि स्थायी समिति सदस्य एवं सैन्य इञ्चार्ज वर्षमान पुनले भने, 'सबै परिस्थितिलाई ध्यानमा राखी आफ्नो अडान रहँदारहँदै पनि जिम्मेवारीका साथ निर्णय गरेका हौं ।'बैठकले शान्ति प्रक्रिया अघि बढाउन शुक्रबारदेखि तीव्रताका साथ छलफल अघि बढाउने निर्णय पनि गरेको छ । बैठकपछि प्रवक्ता दीनानाथ शर्माले नेपाली सेनाको प्रस्तावमा सहमत भएको उल्लेख गर्दै सम्बन्धित पक्षसँग छलफल गरी निष्कर्षमा पुग्ने बताए । 'देशको वर्तमान विशिष्ट परिस्थिति एवं शान्ति प्रक्रियाप्रति संवेदनशील हुँदै र जनताको अपेक्षामा ध्यान दिँदै सेना समायोजनको सम्बन्धमा नेपाली सेनाअन्तर्गत एउटा छुट्टै महानिर्देशनालय गठन गरी निश्चित जिम्मेवारीसहित छुट्टै मिश्रति सुरक्षा अंग निर्माण गर्ने समायोजनको प्रारूपमा सहमत छौं,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'यसको समग्र पक्षहरूको बारेमा सम्बन्धित सबै पक्षहरूसँग छलफल गरी निष्कर्षमा पुगिनेछ ।' यसअघि माओवादीले लडाकुको वा मिश्रति छुट्टै फोर्स बनाउने प्रस्ताव अघि सार्दै आएको थियो ।
माओवादीले १० हजार लडाकु समायोजन गर्नुपर्ने बताउँदै आएकोमा त्यसमा पनि लचकता अपनाउन सकिने जनाएको छ । 'दस हजार जनसेना समायोजन गर्ने अडान कायम राख्दै निकासका लागि आवश्यक लचकता खोजिनेछ,' पुनले भने, 'समायोजन गर्दा सम्मानजनक फोर्स होस्, नेपाली सेनाको अपमान हुनुहुँदैन ।'
नेपाली सेनाको प्रस्तावमा सेनाबाट ३५ प्रतिशत, मापदण्ड पुगेका माओवादी लडाकु ३५ प्रतिशत, नेपाल प्रहरी १५ प्रतिशत र सशस्त्र प्रहरीबल १५ प्रतिशत राखी समायोजन गर्न सकिने उल्लेख थियो । यस्तै प्रस्ताव एमालेले अघि सारेको छ ।
कांग्रेस, एमाले र अन्य दलसँग छलफल गरी समायोजन गरिनेको संख्या निश्चित गर्न सकिने माओवादीले जनाएको छ । 'समायोजन गरिने सेनाको संख्या राजनीतिक पार्टीहरूबीच छलफल गरी त्यसक्रममा निश्चित गर्न सकिनेछ,' माओवादीको विज्ञप्तिमा भनिएको छ ।
नेपाली सेनाले सहमतिको आधारमा संख्या निर्धारण गर्न सकिने प्रस्ताव गरेकोमा माओवादीले करिब २० हजारको फोर्स बनाउन सकिने बताएको छ । समायोजनपछि हुने फोर्सलाई राष्ट्रियस्तरका विकास निर्माण कार्यहरू, विपदका बेला उद्धार तथा राहत कार्यहरू, औद्योगिक क्षेत्रहरूको सुरक्षा र वन क्षेत्रको सुरक्षामा लगाउन सकिने नेपाली सेनाको प्रस्ताव छ ।

No comments: