News

May 10, 2011

मधेसी मोर्चाले बहुमतको संविधान नमान्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराई-मधेस लोकतान्त्रिक पार्टी सद्भावना (महतो) ले सोमबार नेपालगन्जमा संयुक्त कार्यक्रम गरेर बहुमतका आधारमा बन्ने संविधानलाई स्वीकार नगर्ने चेतावनी दिए। ती दलले शान्तिप्रक्रिया पूरा नहुँदै संघीयतालगायतका गम्भीर मुद्दालाई प्रक्रियामा राखेर जारी गरिने अधुरो संविधानलाई कुनै पनि हालतमा नमान्ने घोषणा गरे। मोर्चाका प्रमुख नेताहरूले स्पष्ट खाकाबिना संविधानसभाको म्याद थप्न नदिनेसमेत बताए। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले शान्तिप्रक्रिया पूरा नगरी बहुमतका आधारमा जारी हुने संविधानलाई जलाउनुका साथै त्यसका विरुद्ध आन्दोलनका लागि देशव्यापी बिगुल फुक्ने चेतावनी दिनुभयो। उहाँले कांग्रेस र मोर्चालगायतलाई सरकारमा सामेल गराएपछि राष्ट्रिय सरकार बन्ने र त्यसपछि संविधान जारी गरिनुपर्ने बताउनुभयो। जेठ १४ भित्रमा शान्तिप्रक्रिया पूरा गर्न नसके एमाले र माओवादीलाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार नहुने उहाँको जिकिर थियो। पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका गच्छदारले एमाले र माओवादीका बीचमा भएको सातबुँदे सम्झौता शान्तिप्रक्रिया र संविधानको विरुद्धमा रहेको टिप्पणी गर्नुभयो।

No comments: