News

May 25, 2011

तीनै दलको अडानले रिसोर्ट बैठक निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ११ - प्रमुख तीन दलको अडानका कारण संविधानसभाको म्याद सकिनु तीन दिनअघि बसेको शीर्ष बैठक पनि निष्कर्षविहीन भएको छ । बैठकले विवाद टुंग्याउने जिम्मा प्रमुख तीन दलका प्रमुखलाई जिम्मा दिएको छ । राजधानीको सुविधासम्पन्न गोकर्ण रिसोर्टमा बसेको माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा कांग्रेसले राखेको दस बुँदे प्रस्तावबारे छलफल भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा माओवादीले कांग्रेसलाई दस बुँदे प्रस्तावमा विश्वस्त बनाउने प्रयास गरेको थियो । 'कांग्रेसका अधिकांश माग पूरा भइसकेका छन्, लडाकु र हतियार विशेष समिति मातहत आइसकेको छ,' बैठकपछि नेता श्रेष्ठले सञ्चारकर्मीसित भने, 'कांग्रेसका माग सैद्धान्तिकरुपमा पूरा भइसकेका छन्, व्यवहारिकरुपमा पूरा गर्न कार्यतालिका बनाउन सकिन्छ ।'
प्रमुख तीन दलबीच संविधानमा अहिलेसम्म सहमति भएका र विमती भएका विषयलाई प्रतिवेदन तयार गरेर तीन दिनभित्र सार्वजनिक गर्ने विषयमा मोटामोटी सहमति भएको श्रेष्ठले जानकारी दिए । बैठकपछि प्रधानमन्त्री झलनाथ खनालले भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिएनन् । संविधानसभाको आयु सकिन तीन दिन बाँकी रहँदा प्रमुख दलहरुले सहमतिको उपाय खोज्न छलफल तीब्र पारेका छन् । उनीहरुले मंगलबार पनि द्विपक्षीय वार्ता गरेका थिए । प्रमुख विपक्षी कांग्रेसले म्याद थपअघि आफूले राखेको १० बुँदे माग पूरा गर्न दबाब दिएको छ । उसले लडाकुलाई हतियारबाट अलग गर्ने, लडाकु शिविर संख्या घटाउनेलगायतका माग १० बुँदेमा उल्लेख गरेको छ । गोकर्ण बैठकमा पनि सुरुमा तीन दलका सवै नेताहरुसहितको बैठक बसेको थियो । त्यसपछि प्रमुख तीन दलका शीर्ष नेताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालमात्र बसेर सहमति जुटाउने प्रयास गरेका थिए । तीन दलबीच संविधानसभा जोगाउन छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

No comments: