News

May 31, 2011

खाद्यान्नको मूल्य दोब्बर हुनसक्ने अक्सफामको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायतको सहायता एजेन्सी अक्सफामले तत्काल विश्व खाद्य व्यवस्थामा सुधार नगरिए २० वर्षपछि खाद्यान्नको मूल्य २ गुणासम्म बढ्न सक्ने चेतावनी दिएको छ । सन् २०३० सम्ममा प्रमुख खाद्यान्नको मूल्य १ सय २० प्रतिशतदेखि १ सय ८० प्रतिशतसम्म बढ्न सक्ने भविष्यवाणी अक्सफामले गरेको छ । मूल्य वृद्धिमा जलवायु परिवर्तनको भूमिका आधाभन्दा बढी हुने दाबी गर्दै आक्सफामले विश्वका नेताहरुलाई खाद्य बजार नियमनमा सुधार गरी जलवायु परिवर्तन कोषमा सहयोग गर्न अपिल गरेको छ । अक्सफामकी मुख्य कार्यकारी अधिकारी बारबरा स्टकिङ्गकाअनुसार विश्व खाद्य व्यवस्थामा सुधार ल्याउन सके जलवायु परिवर्तनको समस्या, खाद्यान्नको मूल्यवृद्धि, जमिन, पानी र विद्यृतमा देखिएको कमीलाई हटाउन सकिनेछ । अक्सफामद्धारा प्रकाशित प्रतिवेदनले विश्वको चार क्षेत्रलाई खाद्यान्न सुरक्षाको दुष्टिकोणले असुरक्षित भन्दै त्यहाँको सरकारले जनतालाई खाद्यान्न उपलब्ध गराउन सङ्घर्ष गरिरहेको जनाएको छ । भारतका जनताले आयभन्दा २ गुणा बढि खाद्यान्नमा खर्च गर्नुपरेको अक्सफामको प्रतिवेदनमा उल्लेख छ । यसैगरी ग्वाटेमालामा सरकारले कृषिमा लगानी नगर्दा झन्डै ९ लाख कृषक खाद्यन्न सङ्कटबाट गुज्रिरहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनका अनुसार अजरबैजानमा कृषि उत्पादनको कमीले खाद्यान्न आयात गर्नुपरिरहेको छ जसका कारण खाद्यान्नको मूल्य बढिरहेको छ । उता पूर्वी अफ्रिकामा सुख्खाका कारण ८० लाख जनता भोकमरीबाट गुज्रिरहेको र यसबाट बालबालिका तथा महिलाहरु बढी प्रभावित भएको आक्सफामको प्रतिवेदनमा उल्लेख छ ।

No comments: