News

May 7, 2011

माओवादीमा भागबन्डा झगडा विवाद चुलिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २४ - आफूले पाएका मन्त्रालय बाँडफाँडमा विवाद चुलिँदै जाँदा माओवादीलाई पनि सत्तामोहले गाँजेको छ । जसका कारण अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईबीच आशंका र अविश्वास चरम भएको छ । केन्द्रीय समिति बैठकपछि वैद्य दाहालप्रति निकै आक्रोशित देखिएका छन् । नेतृत्वबीच भएको सहमतिविपरीत दाहालले मन्त्री चयन गरेको भन्दै वैद्य आक्रोशित भए । यो विवादलाई कार्यदिशासँग जोडेर हेर्न थालिएको छ । शान्ति र संविधानसभाको बाटो कि जनविद्रोह भन्ने मुद्दामा दाहाल र वैद्यबीच मतभेद भएकै कारण साना प्राविधिक भागबन्डामा चर्को विवाद हुने गरेको छ । एकअर्काप्रति अविश्वास पनि बढ्दो छ । विगतमा यति सानो प्राविधिक विषयमा कमै विवाद हुन्थ्यो । यतिबेला वैद्यको प्रहारको निसाना दाहाल भएका छन् । 'अकस्मात' जनविद्रोह स्थगित गरी पार्टीको कार्यदिशा परिवर्तन गरी आफूलाई धोखा दिएको महसुस उनले गरेका हुन् । अघिल्लो साता सकिएको केन्द्रीय समिति बैठकपछि दाहाल र वैद्यबीच दूरी बढ्न थालेको हो । यहाँसम्म कि बुधबार दाहालले मन्त्री चयन गरेपछि असन्तुष्टि जनाउँदै वैद्यले आफ्नो पक्षका एक मात्र मन्त्री खड्गबहादुर विश्वकर्मालाई फिर्ता बोलाउने धम्की दिए । उनले उद्योगमन्त्री नियुक्त महेन्द्र पासवान, महिला मन्त्री जयपुरी घर्ती र राज्यमन्त्री ध्रुव आङ्दाम्बे लिम्बूलाई शपथ नलिन निर्देशन दिए ।

No comments: