News

May 7, 2011

प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति आफ्नो दल प्रतिवद्ध - बाबुराम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २४ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति आफ्नो दल प्रतिवद्ध रहेको दोहोर्‍याएका छन् । उनले प्रेस स्वतन्त्रताप्रति माओवादीको सम्मान रहेको बताए । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पार्टी कार्यालयमा सम्मान गर्दै भट्टराईले प्रेस स्वतन्त्रता विरुद्ध कुनै प्रकारको सम्झौता हुन नसक्ने उल्लेख गरे । उनले भने, 'प्रेस स्वतन्त्रताप्रति माओवादीको सम्मान छ । यदा कदा पार्टीका केही व्यक्तिबाट त्यस विरुद्धका घटनाहरु भएका छन् ।' उनले पार्टीको जुन सुकै तहका व्यक्ति, जतिसुकै शक्तिशाली भएपनि प्रेस विरुद्धको कार्यमा लागे कारवाही गरिने पार्टीको नीति रहेको बताए । उनले मिडियामा निश्चित वर्ग समूहको मात्र लगानी रहनुले पनि प्रेस स्वतन्त्रताको हनन भइरहेको बताए । 'प्रेसमा निजी पूँजीको बाहुल्य छ । केही घरानहरुको पकड छ,' उनले भने, 'प्रेसबाट उत्पादित सामग्री कलमजीवीको हातमा रहनुपर्छ ।' उनले सरकारको नीतिका कारण पनि प्रेस कुण्ठित हुन पुगेको उल्लेख गरे । उनले सबैका लागि आवाज उठाउँदै आएको प्रेसले आफ्नो सुरक्षा र पारिश्रमिकका लागि आवाज उठाउनुपर्ने सुझाव दिए । पत्रकारको समस्यका पक्षमा माओवादीले आवाज उठाउँदै आएको उनको दावी थियो । अर्को प्रसंगमा उनले संविधान नबनाई संविधानसभाको विघटन गर्न नहुने बताए । 'संविधानसभा विघटन गर्ने प्रयास भइरहेको छ,' उनको कथन थियो, 'प्राप्त भएका उपलब्धी गुम्ने खतरा छ । पत्रकारहरुले त्यस विरुद्ध खवरदारी गर्न जरुरी छ । 'संविधानसभाको म्याद सकिन २० दिन मात्र बाँकी रहेको भन्दै उनले यस अवधिमा राजनीतिक दलहरुबीच साझा सहमतिको आवश्यकता रहको जनाए । उनले आपसी वैमनस्यताका कारण प्राप्त उपलब्धी गुम्न सक्ने खतरा रहेकोले सबै दल त्यसतर्फ सचेत हुनेपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष शिव गाउँलेले प्रेसले गरेको आलोचना सुन्न सक्ने र पचाउन सक्ने दलको व्यवहार अनुसार ती दलसँग महासंघको सम्बन्ध रहने बताए । उनले प्रेस स्वतन्त्रता विरुद्ध सम्झौताहीन आन्दोलन गर्न पत्रकार महासंघ तयार रहेको उल्लेख गरे ।
महासंघका महासचिव ओम शर्माले माओवादीबाट भइरहेको प्रेस स्वतन्त्रता विरुद्धका गतिविधि रोकिनुपर्ने बताए ।

No comments: