News

May 6, 2011

पासपोर्ट दुरुपयोग गर्ने सभासदहरु रिहा नहुने, उनीहरुलाई अर्को मुद्धा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २३ - कुटनीतिक पासपोर्ट दुरुपयोग गरेको आरोप लागेका सभासदद्वय वीपी यादव र गायत्री शाहलाई काठमाडौं जिल्ला अदालतले रिहा गर्न आदेश दिए पनि उनीहरु तत्काल रिहा नहुने भएका छन् । जिल्ला अदालत काठमाडौंले पासपोर्ट दुरुपयोगमा पक्राउ परेका सभासदद्वय यादव र शाहलाई धरौटीमा रिहा गर्न शुक्रबार नै आदेश दिएको छ । न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले सभासदद्वय यादव र शाहलाई १०-१० हजार धरौटी लिएर मुद्धाको पुर्पक्ष गर्नेगरी तारेखमा रिहा गर्न आदेश दिएको हो । सभासदद्वयविरुद्ध राहदानी ऐन अन्तर्गत कसुर गरेको अभियोगमा काठमाडौ प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको थियो । अदालतले सभासदद्धयलाई धरौटीमा छाड्ने आदेश दिए लगत्तै काठमाडौं प्रहरीले दुवै सभासदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइदिएको छ । आयोग स्रोतका अनुसार राहदानी दिनेक्रममा सरकारी कागज दुरुपयोग हुनका साथै पैसा समेत लेनदेन भएकाले यो प्रकरणमा भ्रष्टाचार र अनुचित कार्य समेत आकर्षित हुने देखिन्छ । पैसाको कारोबार समेत भएकाले आयोगले दुवै सभासदलाई विशेष अदालतबाट म्याद लिई भ्रष्टाचार र अनुचित कार्य समेत गरेको अभियोगमा अनुसन्धान गर्नेछ । यसको लागि अझै केही दिन सभासदहरुले हिरासतम बस्नुपर्ने देखिन्छ । राहदानी दुरुपयोग गरेको अभियोगमा प्रहरीले बैशाख ६ गते उनीहरुलाई संविधानसभा भवनबाट निस्कँदै गर्दा पक्राउ गरेको थियो । यो प्रकरणमा विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृत हिरासतमै छन् भने चार जनालाई पक्राउ आदेश जारी गरिएको छ ।

No comments: