News

May 18, 2011

नजिकिँदो जेठ १४, बाक्लिँदै वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २९ - संविधानसभाको म्याद सकिन दुई सातामात्र बाँकी रहेपछि प्रमुख तीन दलका नेताहरूले आपसी राजनीतिक छलफल र वार्ताको क्रमलाई तीव्रता दिएका छन् । आन्तरिक र अन्तरदलीय असमझदारीका कारण केही समयदेखि सुस्ताएका दलका नेताहरू संविधानसभाको म्याद सकिने बेलामा सहमति खोज्ने प्रयासस्वरूप छलफलमा जुट्न थालेका हुन् । प्रमुख तीन दलका नेताहरुले शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकारसम्मका विषयमा समझदारी कायम गर्ने सवालमा छलफल केन्दि्रत गरेका छन् । बुधबार कांग्रेस र एमाले नेताहरूबीच कुराकानी भयो । यसअघि काग्रेस-माओवादी र माओवादी-एमाले नेताबीच छलफल भएको थियो । तीन दलका द्विपक्षीय छलफलमा संविधानसभाको म्याद थप्नका लागि शान्ति र संविधानका विषयमा ठोस समझदारी आवश्यक पर्ने भन्दै त्यसका विकल्प तयार गर्नुपर्नेमा जोड दिइएको नेताहरूले बताएका छन् । बुधबार कांग्रेस र एमालेका नेताहरुबीचको छलफलमा शान्ति प्रकृया, संविधान निर्माण र सहमतीको सरकारबारे साझा दृष्टिकोण बनाएर अघि बढ्ने समझदारी भएको छ । त्यसका लागि मधेसवादी र साना दलको समेत साथ लिएर अघि बढ्ने सहमति दुई दलबीच भएको छ । एमाले निकट एक व्यापारीको घरमा बुधबार भएको बार्तामा दुवै दलले संविधानसभाको म्याद सकिनुअगावै शान्ति प्रक्रिया र संविधानका प्रमुख विवादित विषयमा निष्कर्षमा पुग्नुपर्ने कुरा उठेको थियो ।


No comments: