News

May 18, 2011

संविधानसभाको म्याद एक वर्ष थप्न संविधान संशोधन विद्येयक दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २९ - सरकारले संविधानसभाको म्याद एक वर्ष थप गर्न संविधान संशोधनका लागि संसदमा विद्येयक दर्ता गराएको छ । 'केही काम बाँकी रहेको' भन्दै सरकारले बिहीबार संसद् सचिवालयमा विद्येयक दर्ता गराएको हो । विद्येयक दर्ताका लागि कानुन मन्त्री प्रभू शाह, शिक्षा मन्त्री गंगालाल तुलाधार र स्वास्थ्य मन्त्री शक्तिबहादुर बस्नेत सिंहदरवारस्थित संसद् सचिवालय पुगेका थिए । सरकारले अन्तरिम संविधानको धारा ६४ मा संशोधन गरी संविधानसभाको म्याद तीन वर्ष रहेकोमा एक वर्ष थप गर्न विद्येयक दर्ता गराएको हो । संशोधन प्रस्तावमा 'विवादित अधिकांश विषयमा उल्लेख्य उपलब्धि भइसके पनि केही काम बाँकी रहेको र संविधानसभाको कार्यकाल सकिन लागेकाले थप गर्न लागिएको' उल्लेख छ । यो अन्तरिम संविधानको नवौं संशोधन विद्येयक हो । यसअघि सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभाको म्याद एक वर्ष थप गर्न संविधान संशोधनका लागि संसदमा विद्येयक दर्ता गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकअघि म्याद थपबारे सहमति जुटाउन प्रधानमन्त्री झलनाथ खनालले संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको बैठक आहृवान गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध तीन मधेसवादी दलहरु अनुपस्थित बैठकमा प्रधानमन्त्रीले संविधानसभाको म्याद एक वर्ष थप गर्ने प्रस्ताव गरेका थिए । उपस्थित दलहरुले भने शान्ति र संविधानका लागि ठोस कार्ययोजना ल्याएरमात्र म्याद थप्न आग्रह गरेका थिए ।

No comments: